रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीले ललितपुरका १५७ जना व्यक्ति बेपत्ता भएका छन्। बाढीमा परी दुई जनाको मृत्यु भएको पुष्टि भएको छ भने नौ जनालाई सकुशल उद्धार गरिएको छ। बेपत्ताको खोजी कार्य जारी छ।
प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेका अनुसार सम्पर्कविहीन भएकामध्ये ११५ पुरुष, ३९ महिला र तीन बालबालिकाको खोजी भइरहेको छ। यी बेपत्ता हुनेमा ललितपुरमा बसोबास गर्ने अन्य जिल्लाका ९९ जना र ४१ जना विदेशी नागरिकसमेत छन्। विदेशी नागरिकमा युक्रेनका १३, अस्ट्रेलियाका १०, अमेरिका र भारतका पाँच–पाँच, चीनका चार, कोरियाका तीन र बेलायतका एक जना छन्।
बाढीमा परी २४ जना घाइते भएका थिए, जसमध्ये २२ जना उपचारपछि घर फर्किएका छन्। एक पुरुष बिरामीको बि एण्ड बि अस्पतालमा र एक बालिकाको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको छ। मृत्यु भएका दुई जना (एक महिला र एक पुरुष) को शव परिवारको जिम्मा लगाइएको छ।
यसैबीच, कैलालीको टीकापुरका २१ जना विद्युत् आयोजनाका मजदुर भोटेकोशी बाढीले सम्पर्कविहीन भएका छन्। भदौ १० गते बाढी आएपछि उनीहरू बेपत्ता भएका थिए। परिवारको आर्थिक अवस्था कमजोर भएका कारण गाउँका भलवन्सा अखिल थारूलाई ४२ हजार रुपैयाँ संकलन गरी खोजीका लागि नुवाकोटतर्फ पठाइएको थियो। हालसम्म उनीहरूको कुनै अत्तोपत्तो लागेको छैन।
सम्पर्कविहीन मजदुरका आफन्तहरूले सरकारलाई छिटो उद्धार गरिदिन आग्रह गरेका छन्। तीन जनाको जीवितै उद्धार गरिएपछि उनीहरूमा आशा जागेको छ। अपर त्रिशूली–१ र अपर त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा मजदुरी गर्ने यी व्यक्तिहरू सुरुङभित्रै खाना खाने गरेकाले जीवितै रहेको उनीहरूले विश्वास गरेका छन्।
