काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको चरम अभाव छ। विभिन्न बिक्री केन्द्र र डिलरहरूमा खाली सिलिन्डर बोकेका उपभोक्ताको लामो लाइन लागेको छ। कतिपय स्थानमा बिहानैदेखि सडकमा फैलिएको भीडमा घण्टौँ बसेका उपभोक्ताले ग्यास पाउने निश्चितता समेत गर्न सकेका छैनन्।
नेपाल आयल निगमका अनुसार पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक क्षतिग्रस्त भएपछि नियमित ढुवानी प्रभावित भएको छ। यद्यपि, वैकल्पिक मार्गबाट ग्यास ल्याउने व्यवस्था मिलाइएको छ। निगमको तथ्याङ्कअनुसार भदौ १८ देखि २० गतेसम्म मात्रै काठमाडौँ उपत्यकामा ८७ हजार ८७७ सिलिन्डर ग्यास भित्रिएको थियो।
निगमका अनुसार भदौ १८ गते २४ हजार ४९४, १९ गते ३४ हजार १३४ र २० गते २९ हजार २४९ सिलिन्डर उपत्यकामा ल्याइएको थियो। सडक नियमित सञ्चालनमा नआएसम्म तराईका उद्योगमा सिलिन्डर भरेर वैकल्पिक मार्ग हुँदै उपत्यकामा ग्यास ल्याउने व्यवस्था गरिएको छ। तर, बजारमा देखिएको दृश्य भने आपूर्ति तथ्याङ्क अनुसार सहज छैन।
यसैबीच, ग्यासको चरम अभाव भएपछि विद्यार्थीहरूले सडकमा दाउरा बालेर विरोध जनाएका छन्। अखिल (क्रान्तिकारी) आबद्ध विद्यार्थीहरूले बिहीबार काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसको गेट अगाडि सडकमा खाना पकाएर विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले सडकमा नै खाना पकाएर खाएका थिए।
सरकारले सहज रूपमा ग्यासको आपूर्ति गर्न नसकेपछि विद्यार्थीहरू समस्यामा परेको उनीहरूले जनाएका छन्। अखिल (क्रान्तिकारी)का अध्यक्ष विजय प्रकाश सापकोटाले डेरा गरी बस्ने विद्यार्थी तथा सर्वसाधारणले ग्यास अभाव झेलिरहेको अवस्थामा इन्डक्सन चुल्हो प्रयोग गर्न घरबेटीले नदिने र कोठाभित्र दाउरा बाल्ने विकल्प पनि नरहेको बताए।
उनले सरकार जनताका समस्याप्रति उदासीन रहेको र सुशासनको नारा केवल भ्रम मात्र भएको आरोप लगाए। उनले आवश्यकताभन्दा बढी ग्यास भित्रिँदा पनि बजारमा चरम अभाव सिर्जना गरी कृत्रिम मूल्यवृद्धि गरिएको र यसमा राज्यकै मिलेमतो रहेको आरोप लगाए।
