संघीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा दुई महत्वपूर्ण विधेयक पेश हुने कार्यसूची छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेश गर्नेछिन्।
यसबाहेक, आज छवटा संसदीय समितिका बैठक पनि बस्ने भएका छन्। अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ।
अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल हुनेछ। महिला तथा सामाजिक मामिला समितिले बाढी प्रभावित क्षेत्रका जोखिममा रहेका समूहलाई यौन शोषण र हिंसाबाट संरक्षण गर्ने विषयमा छलफल गर्नेछ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले भोटेकोशी नदीको बाढीबाट प्रभावित क्षेत्रमा स्वास्थ्य र खाद्य स्वच्छता मन्त्रालयको क्षति, उद्धार र पुनर्स्थापनाबारे छलफल गर्नेछ। विकास, आर्थिक मामिला तथा सुशासन समितिले जलवायु परिवर्तनको प्रभाव र आगामी सम्मेलनबारे छलफल गर्नेछ। विधायन व्यवस्थापन समितिले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ माथि दफावार छलफल गर्नेछ। संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले सङ्घीयता कार्यान्वयन र सबलीकरणबारे विज्ञसँग छलफल गर्नेछ।
