प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान बालेन शाह नेतृत्वको सरकारलाई ‘दमनकारी, पीडक, जनविरोधी र अत्याचारी शासक’ को संज्ञा दिएका छन्। उनले यस्ता शासकहरूको चाँडै अन्त्य हुने दाबी गरेका छन्।
आइतबार ‘नेपाल पत्रकार महासंघ र छापा माध्यम बचाऊ सुझाव कार्यदल’ ले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै ओलीले आफू विगत ६० वर्षदेखि समानता र स्वतन्त्रताको यात्रामा रहेको बताए। उनले जनताका हकअधिकारका लागि लडिरहेको र स्वतन्त्रताको पक्षमा उभिएकाहरूलाई वर्तमान शासकहरूले बुझ्नुपर्ने बताए। अरूको दुःखमा रमाउने शासक नटिक्ने चेतावनी उनले दिए।
कार्यदलले सञ्चारमाध्यमलाई दिइँदै आएको लोककल्याणकारी विज्ञापन कटौती, बजारको मन्दी र सरकारी बेवास्ताका कारण भोग्नुपरेको संकटबारे ध्यानाकर्षण गराएको थियो। त्यसपछि ओलीले लोकतन्त्र र प्रेस स्वतन्त्रता एकअर्काका पूरक भएको बताए।
उनले सञ्चारमाध्यममाथिको प्रहार समग्र लोकतन्त्रलाई कमजोर पार्ने प्रयास भएको उल्लेख गरे। यस्ता प्रतिगामी कदम लामो समय टिक्न नसक्ने उनको भनाइ थियो। ओलीले वर्तमान सरकार ‘छापा-मार’ जस्तो देखिएकाले सञ्चारमाध्यमलाई अप्ठ्यारो परेको टिप्पणी गरे।
ओलीले आफ्नो पार्टी र आफू व्यक्तिगत रूपमा पनि दशकौँदेखि अभिव्यक्ति स्वतन्त्रताको लडाइँ लड्दै आएको स्मरण गरे। छापा माध्यमको रक्षाका लागि एमालेको पूर्ण समर्थन रहेको उनले स्पष्ट पारे। छापा माध्यमहरू ऐतिहासिक र तथ्यपूर्ण दस्ताबेज भएकाले डिजिटल युगमा पनि यसको महत्त्व कहिल्यै नघट्ने बताए।
