भद्रपुर भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (साउन-भदौ) मा लक्ष्यभन्दा ११८.३४% बढी राजस्व संकलन गरेको छ। यस अवधिमा कार्यालयले ४ करोड ६६ लाख ४९ हजार ५४० रुपैयाँ असुली गरेको छ।
कार्यालयका प्रमुख भन्सार अधिकृत प्रभुनारायण मेहताका अनुसार सीमा क्षेत्रमा चोरी पैठारी नियन्त्रणमा सशस्त्र प्रहरीको सक्रियता बढेको छ। यसले वैधानिक आयात वृद्धि गरी राजस्व असुलीमा सुधार ल्याएको हो। साडी र कुर्तासुरुवालगायत कपडाको आयात बढ्दा राजस्व बढेको मेहताले बताए।
भदौ महिनामा मात्र कार्यालयले लक्ष्यको १५०.३८% अर्थात् ३ करोड १६ लाख १५ हजार ४२२ रुपैयाँ संकलन गर्यो। साउनमा १ करोड ५० लाख ३४ हजार ११८ रुपैयाँ असुली भएको थियो।
चालु आवका लागि कार्यालयको वार्षिक राजस्व लक्ष्य २६ करोड २८ लाख रुपैयाँ छ। दुई महिनाको संकलनले वार्षिक लक्ष्यको १७.७५% हिस्सा ओगटेको छ।
सङ्कलित राजस्वमध्ये सबैभन्दा बढी मूल्य अभिवृद्धि कर (भ्याट) बाट २ करोड २० लाख एक हजार १५६ रुपैयाँ आएको छ। भन्सार महसुल (आयात) बाट १ करोड ८४ लाख १२ हजार ३२३, अन्तःशुल्कबाट ६२ लाख ७७ हजार २९६ र कृषि सुधार शुल्कबाट १३ लाख २२ हजार ३८९ रुपैयाँ संकलन भएको छ।
गत आव २०८२/८३ मा भद्रपुर भन्सारले २५ करोड तीन लाख २५ हजार राजस्व लक्ष्यमा ७४.३४% अर्थात् १८ करोड ६० लाख ९५ हजार ८४४ रुपैयाँ मात्र संकलन गरेको थियो।
