सुनसरीको देवानगञ्ज गाउँपालिका–१ कप्तानगञ्जमा शनिबार साँझ गोली प्रहारबाट १९ वर्षीय निरजकुमार यादव गम्भीर घाइते भएका छन्। लक्ष्मीनारायण मन्दिर अगाडि भएको घटनामा सोही ठाउँका यादवको तिघ्रामा गोली लागेको हो।
गाउँपालिका अध्यक्ष वेचन मेहताका अनुसार घाइते यादवको विराटनगरस्थित नोवेल अस्पतालमा उपचार भइरहेको छ। घटनालगत्तै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। स्थानीय प्रत्यक्षदर्शीका अनुसार घटनामा संलग्न अन्य छ जना फरार छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी एवं प्रवक्ता चन्द्र खड्काले गोली प्रहार भएको पुष्टि गरेका छन्। कप्तानगञ्जमा गत साउन १० गते दुई पक्षबिच झडप हुँदा तीन जनाको मृत्यु भएको थियो। प्रहरीले चलाएको गोली लागेर ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रवीन्द्र मेहताको मृत्यु भएको थियो।
