NM Khabar 24 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

ताप्लेजुङ दोभान बजारमा आगलागी: १० घर जलेर नष्ट, १७ परिवार विस्थापित

ताप्लेजुङको दोभान बजारमा बिहीबार दिउँसो भएको आगलागीले १० घर नष्ट पारेको छ। आगलागीबाट १७ परिवार विस्थापित भएका छन्। सुरक्षाकर्मी, दमकल र स्थानीयवासीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको हो।
Kamala Devi
Kamala Devi
24 September 2026, 6:33 pm १ मिनेट पढाइ
आकार:
दोभान बजार आगलागी
Share:

ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र दोभान बजारमा बिहीबार दिउँसो भएको भीषण आगलागीले १० घर नष्ट पारेको छ। आगलागीबाट ८ घरधनीका १० घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। १७ घरपरिवार विस्थापित भएका छन्।

दिउँसो १:३६ बजे सुरु भएको आगो सुरक्षाकर्मी, दमकल र स्थानीयवासीको संयुक्त प्रयासमा अपराह्न नियन्त्रणमा लिइएको थियो। घरधनी ८ र डेरा गरी बस्ने ९ गरी कुल १७ परिवार विस्थापित भएका छन्।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले आगो अन्यत्र सल्कन नदिन केही घरहरू आंशिक रूपमा भत्काउनुपरेको बताए। आगलागीबाट लाक्पाचुङ शेर्पा (डण्डु) र भीम लङ्वाका दुई-दुईवटा घर जलेका छन्। चन्द्रप्रसाद पौडेल, याम आङवुहाङ, घनश्याम खरेल, राजु शेर्पा र राजेन्द्र पौडेलका एक-एक घर जलेर नष्ट भएका छन्।

आगो नियन्त्रणमा फुङलिङ नगरपालिकाको दमकल, नेपाली सेना, जिल्ला प्रहरी, इलाका प्रहरी दोभान र सशस्त्र प्रहरी बल परिचालित भएका थिए। स्थानीयवासीले पनि सहयोग गरेका थिए।

‘हाई कमाण्ड‘ को सक्रियताले जोगियो थप क्षति

गृह मन्त्रालयले देशभरको वर्षा र बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारीहरूको नेतृत्वमा ‘हाई कमाण्ड पोष्ट’ तयारी अवस्थामा राख्न निर्देशन दिएको थियो। सोही निर्देशनअनुसार ताप्लेजुङका सुरक्षा निकायका प्रमुखहरू प्रजिअ दाहालको कार्यकक्षमा बसेर विपद् व्यवस्थापनको सूचना संकलन गरिरहेका थिए।

बिदा छोट्याएर बुधबार राति ताप्लेजुङ फर्किएका प्रजिअ दाहालले सुरक्षा अधिकारीहरू एकै ठाउँमा जुटेर रणनीति बनाइरहेकै बेला आगलागीको खबर पाए। तत्कालै दमकल र सुरक्षा टोली परिचालन गर्न सहज भयो।

आगलागी नियन्त्रणमा आएलगत्तै पीडितहरूको अवस्था बुझ्न र राहत तथा उद्धार कार्यलाई तीव्रता दिन प्रजिअ दाहालको नेतृत्वमा सुरक्षा निकायका प्रमुखहरूको टोली दोभान बजार पुगेको छ।

तमोर नदी र मैवाखोलाको संगमस्थलमा रहेको दोभान बजार ताप्लेजुङकै बाक्लो र दोस्रो ठूलो बजार हो। यहाँका प्रायः सबै घर काठ र जस्तापाताले बनेका छन्। २०७७ साल फागुन १८ गते पनि आगलागी हुँदा करिब ४० घर जलेका थिए।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार