NM Khabar 29 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

गुल्मीमा बाढी-पहिरोले ११ परिवार विस्थापित, तीन चौपायाको मृत्यु

गुल्मीमा अविरल वर्षा, बाढी, पहिरो र हावाहुरीले ११ परिवार विस्थापित भएका छन्। कालीगण्डकी नदीको बहाव बढेपछि रुरुक्षेत्र गाउँपालिकाका ७ घरधुरीलाई सुरक्षित स्थानमा सारिएको छ। गोठ भत्किँदा तीन पशुचौपाया मरेका छन् भने विभिन्न स्थानमा जोखिम कायमै छ।
Kamala Devi
Kamala Devi
26 September 2026, 5:02 pm १ मिनेट पढाइ
आकार:
गुल्मीमा बाढी पहिरो
Share:

अविरल वर्षासँगै आएको बाढी र पहिरोले गुल्मीमा ११ परिवारलाई विस्थापित बनाएको छ। तीन पशुचौपायाको मृत्यु भएको छ। प्रहरी र स्थानीयको सहयोगमा जोखिममा परेकालाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले बताए।

रुरुक्षेत्र गाउँपालिका १ रिडीस्थित लामाचौपारीमा कालीगण्डकी नदीको बहाव बढेपछि सात घरधुरी जोखिममा परेका थिए। उनीहरूलाई आफन्तको घरमा सारिएको छ।

रेसुङ्गा नगरपालिका ४ सेउघामा पहिरोले दुई परिवार विस्थापित भए। तेजबहादुर खत्रीको चार र एमकला खत्रीको दुई जनालाई नजिकैको गोठमा सारिएको छ।

मदाने गाउँपालिका ६ पुर्कोटदहमा हावाहुरीले ३७ वर्षीय सन्तोष चुदराको घरको छानो उडाएको छ। चन्द्रकोट गाउँपालिका ४ रेमीमा ४४ वर्षीय खेमबहादुर कार्कीको कच्ची गोठ भत्किँदा पाडापाडी मरेका छन्।

मुसिकोट नगरपालिका १ पखेरामा २७ वर्षीया सुशीला विकको गोठ भत्किँदा एउटा माउ बाख्रा मरेको छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले पहिरोग्रस्त क्षेत्रमा उद्धार कार्य सक्रिय पारेका छन्।

जिल्ला प्रशासन कार्यालय गुल्मीले जोखिम कायमै रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

यसैबीच, कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि रुरुक्षेत्र गाउँपालिका १ रिडि बजारका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। इलाका प्रहरी कार्यालय रिडीका प्रहरी सहायक निरीक्षक मनबहादुर विश्वकर्माको टोली उद्धारमा खटिएको थियो।

नदीको सतह एकाएक बढेपछि जिल्ला प्रशासनले खोला किनारका नागरिकलाई सर्तक रहन आग्रह गरेको छ। रिडीवासीमा त्रास बढेको छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार