सप्तरीको बलान नदीले सयौं बिघा खेतीयोग्य जमिन बगरमा परिणत गरेपछि किसानहरू सुकुम्बासी बन्ने अवस्थामा पुगेका छन्। लालपुर्जा हातमा भए पनि जमिन नदीमा बिलाउँदा भविष्य अनिश्चित बनेको छ।
बलानबिहुल गाउँपालिका-४ का रामविलास यादवसँग एक बिघा जमिनको लालपुर्जा छ। तर, त्यो जमिन अहिले बलान नदीको बाढीले बगाइसकेको छ। वर्षौँदेखि अन्न फलाउँदै आएको उर्वर खेत नदीमा बिलाएपछि यादव परिवारको गुजाराको मूल आधार गुमेको छ। ‘बाढीले खेत जोगाउन कुनै उपाय लागेन। अब परिवार कसरी पाल्ने र सुकुम्बासी भइने हो कि भन्ने चिन्ताले पिरोलेको छ,’ यादवले दुखेसो पोखे।
रामविलासको परिवारले पुस्तौँदेखि सोही खेतको उब्जनीबाट घर चलाउँदै आएको थियो। नदीको निरन्तर कटानले परिवारको भविष्य अनिश्चित बनेको छ। स्थानीयका अनुसार नदी किनारका बासिन्दाका लागि खेत केवल माटो नभई रोजगारी, खाद्यान्न, सामाजिक प्रतिष्ठा र भविष्यको आधार हो। खेत नै नदीमा मिसिँदा किसानको आम्दानी र सामाजिक हैसियत एकैपटक समाप्त हुन्छ।
सोही ठाउँका पूर्व वडाध्यक्ष मो. हन्सु मियाँको परिवार कुनै समय गाउँकै सम्भ्रान्त मानिन्थ्यो। उनीहरूसँग करिब ८० बिघाको एक विशाल प्लट जमिन थियो। आज त्यस जमिनको ठूलो हिस्सा बलान नदीको बगरमा परिणत भइसकेको छ। ‘बाढीले हाम्रो पुस्तौँदेखिको सम्पत्ति कटान गरेर नदी बनाइदियो। अहिले हामी सुकुम्बासी बन्ने अवस्थामा पुगेका छौं,’ मियाँले भने। ‘असी बिघा जमिनको मालिक परिवारले आफ्नो जमिन जोगाउन नसक्दा लालपुर्जा र वास्तविक जमिनबीचको सम्बन्ध नै तोडिएको छ।’
रामविलास र हन्सुको कथा बलान नदी तटीय क्षेत्रका सयौं किसानको साझा नियति हो। कुनै समय हरियाली फाँट रहेका स्थानहरू अहिले नदीको धार र बालुवाको बगर बनेका छन्। स्थानीय गौरी यादवका अनुसार करिब एक दशकअघिसम्म पश्चिमबाट बग्ने बलान नदीले बिस्तारै धार परिवर्तन गर्दै पूर्वतर्फ कटान सुरु गरेको हो। ‘केही वर्षअघिसम्म यहाँ धान र गहुँका बाला झुल्थे। अहिले त्यहीँ नदी बग्छ, हरियाली फाँट बगर बनिसक्यो,’ उनले भने।
नदीले धार परिवर्तन गरेपछि बस्ती नै जोखिममा परेको छ। स्थानीय रामशङ्कर भण्डारीका अनुसार गत वर्ष आएको बाढीले कटान तीव्र पारेपछि सडकको पश्चिम भागमा रहेको बस्तीलाई पूर्वतर्फ सारिएको थियो। तर, नदीको धार पुनः बस्तीतर्फै सोझिएपछि विस्थापनको त्रास यथावत् छ। ‘बाढीबाट जोगिन मानिसले कति पटक बस्ती सार्ने? कि नदी नियन्त्रण गरेर यसलाई पुरानै प्राकृतिक धारमा फर्काउने?’ भण्डारीले प्रश्न गरे। ‘पहिले बाढी आउँदा बाली जोगाउने चिन्ता हुन्थ्यो, अहिले बालबच्चा र ज्यान कसरी जोगाउने भन्ने पिरलो छ।’
पूर्व वडाध्यक्ष हन्सु मियाँका अनुसार पछिल्लो बाढीले मात्रै यस क्षेत्रमा करिब तीन सय बिघा खेतीयोग्य जमिन कटान गरेको प्रारम्भिक अनुमान छ। प्रशासनिक निकायदेखि राजनीतिक नेतृत्वसम्म गुहार्दा पनि नदी नियन्त्रणको दिगो काम हुन सकेको छैन। जलस्रोत तथा सिँचाइ कार्यालय सप्तरीले उपभोक्ता समितिमार्फत आर्थिक वर्ष २०८०/८१ मा तटबन्ध निर्माण गरेको थियो। तर, बाढीले तटबन्ध भत्काएपछि समस्या ज्यूँका त्यूँ रहेको स्थानीय मो. गुलाबले बताए। राज्यले हरेक वर्ष अस्थायी तटबन्ध बनाउने र बाढीले भत्काउने चक्र दोहोरिँदा समस्याको दीर्घकालीन समाधान हुन सकेको छैन।
नदी नियन्त्रणका अनुभवी अवकाश प्राप्त इन्जिनियर विश्वनाथ यादव बलान नदीको यो विध्वंसलाई चुरे दोहनसँग जोडेर हेर्नुपर्ने बताउँछन्। चुरे क्षेत्रमा हुने ढुङ्गा, गिट्टी र बालुवाको अनियन्त्रित उत्खनन तथा क्रसर उद्योगका कारण नदीको प्राकृतिक प्रणाली ध्वस्त भएको उनको विश्लेषण छ। ‘चुरे क्षेत्र कमजोर भएपछि वर्षाको भेल तीव्र गतिमा तल्लो भेगमा ओइरिन्छ र कटानको रूप भयावह बन्छ,’ इन्जिनियर यादवले भने। ‘चुरे संरक्षण र नदी नियन्त्रणलाई एकीकृत रूपमा अघि बढाउनुपर्छ। बलियो वैज्ञानिक तटबन्ध, जोखिम क्षेत्र पहिचान र पूर्वसूचना प्रणालीलाई प्रभावकारी नबनाएसम्म क्षति रोक्न सकिँदैन।’
खेतीयोग्य जमिन गुम्दै जाँदा किसानहरू भूमिहीन बन्ने र रोजगारीका लागि विस्थापित हुनुपर्ने बाध्यता सिर्जना भएको छ। यसले स्थानीय अर्थतन्त्र र सामाजिक संरचनामै गम्भीर संकट निम्त्याएको छ। स्थानीय रामनारायण पण्डित भन्छन्, ‘बलान नदीमा पानी मात्र बगेको छैन, पानीसँगै किसानको पसिना, सपना र पुस्तौँदेखिको सम्पत्ति बगेको छ। समयमै वैज्ञानिक नदी व्यवस्थापन नगरिए आज खेत बगेको ठाउँमा भोलि सिङ्गो बस्ती नै बग्ने निश्चित छ।’
