सुशासन र समृद्धिको नारा दिएर निर्वाचित सरकार ‘ठूला माछा’ प्रकरणमा पछि हट्नु विडम्बनापूर्ण भएको पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बताएका छन्। उनले सामाजिक सञ्जालमा प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेको तस्बिर राख्दै यस्तो टिप्पणी गरेका हुन्। भट्टराईले लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्नेमा जोड दिए।
‘सुशासन र समृद्धिको नारा दिएर निर्वाचित सरकार ठूला माछा समात्ने प्रकरणहरूमा एक पछि अर्को गरी पछि हट्नुपर्ने स्थिति आउनु विडम्बनापूर्ण छ,’ उनले भने, ‘हो, लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्छ।’
उनले गरिब तथा कमजोर व्यक्तिले हतारमा प्रमाण छाडेर चोरी गर्दा पक्राउ परी दण्डित हुने तर आर्थिक तथा सामाजिक रूपमा शक्तिशाली व्यक्तिले प्रमाण नछोडी अपराध गर्दा प्रमाण अभावमा निर्दोष ठहरिने अवस्था रहेको बताए। ‘तर, झुत्रेझाम्रे भोको मान्छेले हतारमा प्रमाण छोडेर बारीको कांक्रो चोर्दा पक्रिएर दण्डित हुने! अनि पेट भरिएको सुकिलामुकिलाले सबुत नछोडिकन भित्ता फोरेर हिरा चोर्दा प्रमाण नभेटिएर निर्दोष ठहर्ने ! हाम्रो यस्तो न्यायिक प्रणालीलाई के गर्ने?’
भट्टराईले देशलाई व्यवस्थित ढंगले लुट्दै आएका र भविष्यमा पनि त्यस्तो गतिविधि गरिरहने विभिन्न स्वरूपका समूहलाई नियन्त्रण नगरी सुशासन र समृद्धिको वास्तविक सुरुवात हुन नसक्ने बताए। ‘देशलाई व्यवस्थित ढंगले लुट्दै आएका र भविष्यमा पनि लुटिरहने विभिन्न भेषधारी गिरोहलाई पहिले नष्ट नगरी सुशासन र समृद्धिको सही सुरुवात हुन्न,’ उनले भने।
