दसैंको मुखमा बागलुङको गलकोटमा दरमखोलाको बाढीले सयौं रोपनी धानखेत बगाएको छ।
गत असोज ८ देखि ११ गतेसम्म परेको भारी वर्षापछि आएको बाढीपहिरोले गलकोटसहित बागलुङका अधिकांश स्थानीय तह प्रभावित भएका छन्।
गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले बाढीबाट धानखेत गुमाएका किसानलाई प्रतिरोपनी चार हजार रुपैयाँका दरले राहत दिने जानकारी दिएका छन्। उनले बढीमा १६ हजार रुपैयाँसम्म क्षतिपूर्ति दिने निर्णय भएको बताए।
‘तत्कालका लागि राहत व्यवस्था गरेका छौँ,’ नगरप्रमुख गैरेले भने, ‘क्षतिको यकिन विवरण संकलन गरी पुनर्निर्माणलाई योजनाबद्ध रूपमा अगाडि बढाउँछौँ।’ उनका अनुसार गलकोट नगरपालिकाका वडा नं ३, ५, ६, ८ र ९ मा बाढीले खेत कटान गरेको छ।
बाढीको मारमा स्थानीय जनप्रतिनिधि पनि परेका छन्। गलकोट नगरपालिका वडा नं. ९ का वडाध्यक्ष तेजबहादुर थापाले बाह्रमुरीमा रहेको आफ्नो १० मुरी धान फल्ने खेतमा अहिले खोला हिँडिरहेको बताए।
वडाध्यक्ष थापाका अनुसार यस वडाका टिमुरबोट, ब्राहमुरी, झेतुङ र सयमुरीमा गरी १३५ परिवार बाढीबाट प्रभावित भएका छन्। यसैगरी गलकोट नगरपालिका-९ को वडा कार्यालय भवन पनि दरमखोलाको बाढीले बगाएको छ।
पाकेर पहेँलो भएको धानसहित खेत नै खोलामा मिसिएपछि किसानहरू मर्कामा परेका छन्। गलकोट-९, फापरखेतका पुरुषोत्तम गौतमले झेतुङमा रहेको आफ्नो १८ मुरी धान फल्ने खेतको नामोनिसान नरहेको दुखेसो पोखे।
‘खेतकै उब्जनीले घरपरिवार धानिन्थ्यो, यसपालि प्रकृतिले हामीलाई ठग्यो,’ उनले भने। सोही ठाउँका टेकराज शर्माको पनि १२ मुरी धान फल्ने चार रोपनी खेत खोलाले बगाएको छ।
गलकोट नगरपालिका वडा नं. ३ का वडाध्यक्ष फम खत्रीले करिब २० रोपनी खेतमा क्षति पुगेको जानकारी दिए। मानवीय क्षति नभए पनि व्यक्ति र सार्वजनिक सम्पत्तिमा ठूलो नोक्सानी पुगेको खत्रीले बताए।
नगरप्रमुख गैरेका अनुसार प्रारम्भिक विवरणमा नगर क्षेत्रभित्र २२ घरगोठ, रिसोर्ट, कृषि फार्म र पशुपालन व्यवसायमा ठूलो क्षति पुगेको छ।
जिल्ला प्रशासन कार्यालय बागलुङको तथ्याङ्कअनुसार जिल्लाभर बाढीपहिरोका कारण १३ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन्। बागलुङमा ५१ घर र १० गोठ बाढीले बगाएको छ। जिल्लाभर ६१ घरगोठ पूर्ण रूपमा बगेका छन् भने ५१ घरमा आंशिक क्षति पुगेको छ।
यसैगरी बागलुङ जिल्लामा दुईवटा जलविद्युत् आयोजनामा आंशिक क्षति, एक विद्यालय, एक रिसोर्ट र एक कृषि फार्ममा पनि क्षति पुगेको छ। बाढीपहिरोका कारण २५६ वटा पशुचौपाया र २१५ वटा कुखुरा मरेका छन्।
