नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज (असोज २० गते) काठमाडौंको राष्ट्रिय सभागृहमा उम्मेदवारी दर्ता भइरहेको छ। देशभरबाट आएका ७ हजार ११४ महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछन्।
केन्द्रीय निर्वाचन समितिले राष्ट्रिय सभागृहमा निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवारी फारम वितरण तथा मनोनयन दर्ताको काम अघि बढाएको छ। उम्मेदवारी दर्ता प्रक्रिया मंगलबार अपराह्न ४ बजेसम्म जारी रहनेछ।
यसपटक कांग्रेसले विधान संशोधन गरेर केन्द्रीय कार्यसमितिको आकार १६७ बाट बढाएर २९७ सदस्यीय बनाएको छ। पदाधिकारीको संख्या पनि १४ बाट बढाएर २६ पुर्याइएको छ।
नयाँ विधानअनुसार एक सभापति, एक वरिष्ठ उपसभापति, चार उपसभापति (एक महिला अनिवार्य), तीन महामन्त्री (एक महिला अनिवार्य), १५ सहमहामन्त्री र एक कोषाध्यक्ष रहने व्यवस्था छ। संशोधित विधानमा मधेसीतर्फ पाँच महिलासहित १३ जना केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ।
महामन्त्री पदमा डा. सुनीलकुमार शर्मा, डिला संग्रौला पन्त, महालक्ष्मी उपाध्याय ‘डिना’ र शंकर तिवारीले उम्मेदवारी घोषणा गरी दर्ता गराउँदै छन्। खुला सहमहामन्त्रीमा देवेन्द्रराज कँडेलले उम्मेदवारी घोषणा गरेका छन्।
निर्वाचन समितिले आज दिउँसो ४:३० बजे उम्मेदवारहरूको प्रथम नामावली प्रकाशन गर्नेछ। त्यसपछि दाबी विरोध र जाँचबुझपश्चात् बेलुका ७ बजे दोस्रो नामावली प्रकाशन हुनेछ।
उम्मेदवारी फिर्ता लिने समय असोज २१ गते बुधबार बिहान ९ बजेसम्म तोकिएको छ भने सोही दिन बिहान १० बजे अन्तिम नामावली प्रकाशन गरिनेछ। मतदान असोज २२ गते शुक्रबार बिहान ७:३० देखि साँझ ५ बजेसम्म हुने निर्वाचन समितिले जनाएको छ।
