दसैंअघि नै मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरका अवरुद्ध पुल सञ्चालनमा आउने भएका छन्। सडक डिभिजन कार्यालय पोखरा र बेनी-जोमसोम-कोरला सडक आयोजनाले मर्मत कार्य तीव्र पारेका छन्।
गत असोज ८ देखि ११ गतेसम्मको भारी वर्षाले पर्वत-बागलुङ जोड्ने मालढुङ्गा पुल र म्याग्दीको पोखरेबगर पुलको पहुँच मार्ग बगाएको थियो। यसका कारण विगत दुई सातादेखि डोल्पादेखि कोरला नाकासम्मको सिधा सडक सम्पर्क टुटेको छ।
सडक डिभिजन कार्यालय पोखराका प्रमुख कृष्णराज अधिकारीले मालढुङ्गा पुलको मर्मत चार-पाँच दिनभित्र अर्थात् दसैंअगावै सञ्चालनमा ल्याइने बताए। बेनी-जोमसोम-कोरला सडक आयोजनाले पनि आगामी सोमबारसम्म पोखरेबगर पुल अस्थायी रूपमा सञ्चालनमा ल्याउने गरी रातदिन काम गरिरहेको जनाएको छ।
सडक अवरुद्ध हुँदा नेपाल-चीन सीमा जोड्ने कोरला नाकाबाट दसैं-तिहार लक्षित सयौं कन्टेनर मुस्ताङमै रोकिएका छन्। आयातकर्ताहरू मर्कामा परेका छन् भने मुस्ताङमा दैनिक उपभोग्य वस्तुको अभाव देखिन थालेको छ। स्थानीय बजारमा उपभोग्य वस्तुको मूल्य आकाशिएको छ।
मुस्ताङका किसानले उत्पादन गरेको स्याउ बजारसम्म ढुवानी गर्न नपाउँदा कुहिने जोखिम बढेको छ। काठमाडौं र पोखराबाट बागलुङ हुँदै रुकुमपूर्व, रुकुमपश्चिम र डोल्पासम्म गुड्ने लामो दूरीका रात्रि तथा दिवा बस सेवा पूर्ण रूपमा रोकिएका छन्।
धवलागिरि-गण्डकी यातायात सेवा प्रालिका अध्यक्ष उमेश केसीका अनुसार लामो दूरीका ठूला बस चल्न नसकेपछि यात्रुहरू महँगो भाडा तिरेर जोखिमपूर्ण वैकल्पिक सडकबाट जिप र माइक्रोमार्फत यात्रा गर्न बाध्य छन्। कतिपय यात्रुहरू मालढुङ्गा नजिकैको खनियाघाट झोलुङ्गे पुलमा झरेर भारी बोकी वारपार गरेपछि अर्को सवारी साधन फेरेर बागलुङ पुग्ने गरेका छन्।
सडक सञ्जाल विच्छेद भएपछि पोखरा-जोमसोम हवाई मार्गमा यात्रुको अत्यधिक चाप बढेको छ। जोमसोम विमानस्थलका प्रमुख विश्वनाथ शर्माका अनुसार तारा र समिट एयरले नियमित ५/५ उडान भर्दै आएकामा चाप बढेपछि अहिले दैनिक ७/७ वटासम्म उडान गरिरहेका छन्। तैपनि चाप थेग्न मुस्किल परिरहेको छ।
यसअघि: गण्डकीमा बाढीपहिरोले मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध, जनजीवन कष्टकर
