काठमाडौँको ‘प्रतिष्ठित’ नर्भिक इन्टरनेशनल हस्पिटलमा कार्यरत क्यासियर रोहन थापाले सेवाग्राहीबाट १५ लाख ४४ हजार ११५ रुपैयाँ हिनामिना गरेको गम्भीर घटना बाहिरिएको छ। यो घटनाले कर्पोरेट अस्पतालहरूको आन्तरिक लेखा प्रणालीको चरम कमजोरी र युवा जनशक्तिमाथि हुने श्रम शोषणलाई छताछुल्ल पारेको छ।
मकवानपुर हेटौँडा घर भई नर्भिकको ओपिडीमा क्यासियरका रूपमा कार्यरत २१ वर्षीय थापाले असारदेखि भदौ महिनासम्म उक्त रकम हिनामिना गरेको अस्पताल प्रशासनको अडिट रिपोर्टले देखाएको छ। यद्यपि, थापाले काठमाडौँ जिल्ला अदालतसमक्ष बयान दिँदै करिब ४ लाख रुपैयाँ मात्र चलाएको र सो रकम मोबाइल, किताब तथा खानपिनमा खर्च गरेको बताएका छन्।
थापाले बिरामीबाट नगद बुझ्ने तर कम्प्युटर प्रणालीमा बिल काट्दा पहिले नै इसेवा वा फोनपेमा इन्ट्री भइसकेका पुराना ट्रान्जेक्सन कोडहरू प्रयोग गरी नक्कली बिल थमाउने गरेको अनुसन्धानबाट खुलेको छ। यसरी उनले नगद आफैँले खल्तीमा हाल्ने गरेको पाइएको छ।
न्यून तलब र पारिवारिक बाध्यता
नेपाल कमर्स क्याम्पसमा बीबीएस चौथो वर्षमा अध्ययनरत रोहन थापाले नर्भिकबाट दैनिक ८ घण्टा (दिउँसो १२ देखि राति ८ बजेसम्म) खटिएबापत मासिक जम्मा २० हजार रुपैयाँ तलब पाउँथे। काठमाडौँको महँगो कोठाभाडा र कलेजको शुल्क धान्न त्यो रकम अपर्याप्त थियो। उनले अदालतसमक्ष दिएको बयानमा सामान्य जागिरे बुवा र हजुरआमाको घुँडाको क्यान्सरको महँगो उपचारका कारण परिवार आर्थिक रूपमा पूर्णतया टाट पल्टिएपछि चरम नैराश्यताले आफू यो बाटोमा लाग्न बाध्य भएको स्वीकार गरेका छन्।
अस्पतालको लेखा प्रणालीमाथि गम्भीर प्रश्न
नर्भिकजस्तो ‘प्रतिष्ठित’ र महँगो मानिने अस्पतालमा एउटै काउन्टरबाट दिनहुँ लाखौँ रुपैयाँको नगद कारोबार हुने भए पनि महिनौँसम्म एउटै डिजिटल कोड दुरुपयोग गरेर १५ लाखभन्दा बढी रकम चोरी हुनुले अस्पतालको लेखा विभाग र व्यवस्थापन प्रणालीमा ठूलो कमजोरी रहेको देखाउँछ। अस्पताल प्रशासनले अडिट रिपोर्टका आधारमा असारदेखि भदौसम्म कुल १५ लाख ४४ हजार ११५ रुपैयाँ हिनामिना भएको बिगो दाबी गरेको छ। यो घटनाले आन्तरिक अडिट र नियन्त्रण प्रक्रियाको प्रभावकारितामाथि गम्भीर प्रश्न खडा गरेको छ।
काठमाडौँको महँगो जीवनयापन, कलेजको शुल्क र परिवारको उपचार खर्च धान्न मासिक २० हजार रुपैयाँको तलब अपर्याप्त भएको रोहन थापाको भनाइले कर्पोरेट क्षेत्रमा हुने श्रम शोषणको भयावह अवस्थालाई पनि उजागर गरेको छ। न्यून पारिश्रमिकले युवाहरूलाई आर्थिक दबाबमा पारेर आपराधिक बाटोमा धकेल्न सक्ने जोखिम यो घटनाले स्पष्ट पारेको छ।
हाल काठमाडौँ जिल्ला अदालतले रोहन थापालाई धरौटीमा छाड्न आदेश दिएको छ। हिनामिना भएको रकम कसले फिर्ता गर्ने भन्नेबारे अस्पताल प्रशासनले अझै स्पष्ट निर्णय गरेको छैन।
