रौतहटमा असोज महिनामा १७ गम्भीर प्रकृतिका घटनासहित ९६ अपराध दर्ता भए, फैसला कार्यान्वयनतर्फ ५८ लाख ८१ हजार १५० रुपैयाँ जरिवाना असुल गर्नुपर्नेछ। जिल्ला प्रहरी कार्यालय रौतहटले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस अवधिमा कुल ९६ आपराधिक घटना भएका हुन्।
जिल्ला प्रहरी प्रमुख एसपी सीताराम रिजालका अनुसार ज्यानसम्बन्धी आठ, आत्महत्यासम्बन्धी १०, चोरीसम्बन्धी १६, सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी २३, सामाजिक अपराधसम्बन्धी १६, महिला तथा बालबालिकासम्बन्धी आठ, सवारी ज्यानसम्बन्धी छ र अन्य प्रकृतिका ९ वटा घटना दर्ता भएका छन्। जिल्ला प्रशासन कार्यालयबाट समेत गरी ३८९ ठाडो उजुरी परेकोमा ३४२ वटा छलफलबाट फर्छ्यौट भए, ४७ वटा प्रक्रियामा छन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी ५५ उजुरीमध्ये अधिकांश फर्छ्यौट भइसकेका छन्।
असोज महिनामा चालु मुद्दाका ५९ जना प्रतिवादी र फैसला कार्यान्वयनका क्रममा थप ५४ जना पक्राउ परेका छन्। पक्राउ परेकाहरूबाट आठ वर्ष तीन महिना २० दिन कैद र ५८ लाख ८१ हजार १५० रुपैयाँ जरिवाना असुल गर्नुपर्ने विवरणमा उल्लेख छ।
प्रहरीले लागुऔषधसम्बन्धी चार वटा मुद्दा दर्ता गरी पाँच जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट पाँच किलो १६५ ग्राम गाँजासहित १४७ एम्पुल नशालु इन्जेक्सन र ३४६ ट्याब्लेट लागुऔषध बरामद भएको छ। परोहा नगरपालिका–८ पटेल चोकबाट १२ बोरको कटुवा पेस्तोलसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ।
असोज महिनामा जिल्लाभर ६८ वटा सवारी दुर्घटना हुँदा ७ जनाको मृत्यु र ९३ जना घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर राजेन्द्र थापामगरका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने ६७४ वटा सवारीसाधनलाई कारबाही गरी ७ लाख १४ हजार ५०० रुपैयाँ जरिवाना गरिएको छ।
यस अवधिमा विभिन्न विपद्का २७ वटा घटनामा चार जनाको मृत्यु र सात जना घाइते भएका छन्। आगलागी, हावाहुरी तथा चौपाया क्षतिसमेत गरी कुल ५९ लाख २२ हजार ७७८ रुपैयाँ बराबरको क्षति भएको छ।
राजस्व चुहावट तथा भन्सार छली नियन्त्रणका क्रममा १४ लाख ८८ हजार ५४५ रुपैयाँ बराबरका सामान बरामद गरिएको छ। सो क्रममा ६ जना तस्कर पक्राउ पर्नुका साथै तस्करीमा प्रयोग भएका ३ थान सवारी साधन बरामद भएका छन्। वन पैदावार नियन्त्रणतर्फ ८१ घनफिट काठसहित सवारीसाधन बरामद गरी तीन जनालाई पक्राउ गरिएको छ।
नागरिकको मोबाइल बैंकिङ विवरण दुरुपयोग गरी रकम चोरी गर्ने आरोपमा तीन जना पक्राउ परेका छन्। प्रहरीले हराएका तथा चोरी भएका २३ वटा मोबाइलसमेत फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ।
दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी जिल्लामा ८९० जना प्रहरी परिचालन हुने गरी विशेष सुरक्षा योजना कार्यान्वयन गरिएको छ। अनुचित लेनदेन मिटर ब्याज सम्बन्धी २८ वटा उजुरीमा अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।
