भक्तपुरका नेवार समुदायले बुधबार विजयादशमीको दिन मोहनी नखः मनाएका छन्। यस अवसरमा मान्यजनको हातबाट मोहनी सिःनं अर्थात् कालो टीका, रातो टीका र जमरा ग्रहण गरिएको छ। टीकाको शुभसाइतमा कालो टीका लगाएपछि ब्रह्मायणी मन्दिरमा पूजा सामग्रीसहित दर्शन गर्न जाने परम्पराअनुसार दिनभर र रातिसम्म हजारौँ दर्शनार्थीको घुइँचो लागेको थियो।
नेवार समुदायले महानवमीको दिन घरघरमा पालामा दियो बालेर त्यसलाई अर्को पालाले छोपी जम्मा भएको कालो ध्वाँसोबाट मोहनी सिःनं बनाउने परम्परा छ। विजयादशमीको दिन बल र विजयको प्रतीकका रूपमा रातो अक्षता, जमरा र निधारको बीचमा यही मोहनी सिःनं लगाएर दसैँ मोहनी नखः मनाइन्छ।
भक्तपुरका संस्कृतिकर्मी प्रकाश कायस्थका अनुसार असत्यमाथि सत्यको विजय उत्सवका रूपमा यो पर्व मनाइन्छ। प्राचीन मान्यताअनुसार यसै दिन त्रिपुरासुन्दरी भगवती प्रकट भई महिषासुर दैत्यलाई मोहनी लगाई वध गरेकी थिइन्। मोहनी सिःनंलाई तान्त्रिक शक्ति र मोहनी शक्तिको प्रतीकका रूपमा लिइन्छ।
ब्रह्मायणी मन्दिरमा हजारौँ दर्शनार्थीले बाजागाजासहित शक्तिपीठका रूपमा रहेको ब्रह्मायणी देवीको पूजा एवं दर्शन गरेका छन्। मोहनीका बेला नेवार समुदायमा निम्तो आएको ठाउँमा ‘नखत्या’ अर्थात् छोरीचेलीलाई बोलाउने चलन छ। बौद्ध धर्मावलम्बीले पनि मोहनी नखःलाई फरक महत्त्वका साथ मनाउने गरेका छन्।
तलेजु भवानीको आगमनसँगै मोहनी नखःको प्रचलन
मोहनी नखः कहिलेबाट सुरु भयो भन्ने यकिन तथ्य छैन। तर, दसैँमा खड्गयात्रा (पायाः) को चलन नेपालमा तन्त्रयानको प्रादुर्भाव भएदेखि सुरु भएको मानिन्छ। मोहनीको मुख्य विशेषता नै मोहनी सिन्हः हो।
राजा हरिसिंहदेवले नेपाल संवत् ४४४ मा भारतबाट नेपालमा तलेजु भवानीलाई लिएर आएदेखि मोहनी नखः मनाउन थालिएको भन्ने भनाइ छ। नेपाल संवत् ४४३ (सन् १३२५) मा भारतीय मुसलमान शासक गयासुद्दीन तुग्लकले हरिसिंहदेवको राज्य सिम्रौनगढ (बारा) मा आक्रमण गरेपछि उनी आफ्नो इष्टदेवता तलेजु भवानीसहित भक्तपुरका राजा रुद्र मल्लको शरणमा आएको इतिहासमा उल्लेख छ। यसरी तलेजु भवानीको आगमनसँगै मोहनी नखःको प्रचलन सुरु भएको विश्वास गरिन्छ।
मध्यराति खड्ग जात्रासहित पर्वको समापन
मोहनी नखःको समापन मध्यराति तलेजुमा खड्ग जात्रा सम्पन्न भएपछि मात्र हुन्छ। यस क्रममा राति ब्रह्मायणीबाट नवदुर्गा देवगण तलेजु आउँछन्। त्यहाँ नवदुर्गाको दिदी तलेजुलाई ढोग गरी मन्त्र सिद्ध गरिन्छ। त्यसपछि नवदुर्गा र खड्ग जात्रासहित तलेजुलाई बोकेर भव्य जात्रा गरिन्छ। तलेजुको बाहन सेतो घोडालाई पछि लगाउँदै नगरपालिका परिक्रमा गरेपछि मात्र मोहनी नखः औपचारिक रूपमा सम्पन्न हुनेछ।
