पछिल्लो २४ घण्टामा देशभर सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने ३१३ जना घाइते भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौं, सुनसरी, मकवानपुर, मोरङ र तनहुँमा दुर्घटना भएका हुन्।
काठमाडौंको टेकुस्थित अम्बे कम्प्लेक्स नजिकै त्रिपुरेश्वरबाट कालीमाटीतर्फ जाँदै गरेको बा.प्र ०२–०६३ प ९०९६ नम्बरको मोटरसाइकलको ठक्करबाट ४५ वर्षीय भारतीय नागरिक परमानन्द बैठाको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका उनको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो।
सुनसरीको इटहरी उपमहानगरपालिका–४ हलगडास्थित कोशी लोकमार्गमा को२७प २०३६ नम्बरको मोटरसाइकललाई प्र १–०२–००१ ख ९९८५ नम्बरको बसले ठक्कर दिँदा इटहरी–८ का ६२ वर्षीय मोटरसाइकल चालक छत्रबहादुर भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ।
मकवानपुरको बकैया गाउँपालिका–५ श्रीपुरमा बा प्र ०८–००१ ह ०१०५ नम्बरको अटो ‘ब्रेक फेल’ भई दुर्घटना हुँदा ४५ वर्षीय सन्तबहादुर माझीको मृत्यु भएको छ। मोरङको लेटाङ नगरपालिका–५ डिल्लेचोकस्थित भित्री सडकमा प्र १–०१–२४५ प ६३८० नम्बरको मोटरसाइकलले सोही ठाउँका ७० वर्षीय बलबहादुर विकलाई ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले उल्लेख गरेको छ।
तनहुँको व्यास नगरपालिका–१ अम्रेनी भन्ने स्थानमा पृथ्वी राजमार्ग हुँदै डुम्रेबाट दमौलीतर्फ गइरहेको बा१८च ४५८७ नम्बरको गाडीले ठक्कर दिँदा ४० वर्षीय एक पुरुषको मृत्यु भएको छ। ती पुरुषको पहिचान भने अझै खुलेको छैन।
प्रहरी महानिरीक्षकका अनुसार सवारी दुर्घटनामा दैनिक ७ देखि १० जनाको मृत्यु हुने गरेको र यो मधेश प्रदेशमा बढी रहेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गरेको दैनिक विवरणअनुसार पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घनमा २०२ कारबाही भएका छन्। यस अवधिमा मादक पदार्थ सेवन (मापसे) मा ७४ र तीव्र गतिमा सवारी चलाएकोमा ६८ कारबाही भएका छन्।
