साउदी अरेबियाको सेबा आयल फिल्डमा बुधबारको ड्रोन हमलामा एक नेपाली नागरिकको मृत्यु भएपछि नेपाल सरकारले कडा निन्दा गरेको छ। यस घटनामा एक फिलिपिनो नागरिकको पनि ज्यान गएको छ भने एक भारतीय र एक पाकिस्तानी नागरिक घाइते भएका छन्।
परराष्ट्र मन्त्रालयले बिहीबार सामाजिक सञ्जालमार्फत सार्वजनिक पूर्वाधारमा गराइएको विस्फोटको कडा भर्त्सना गरेको हो। मन्त्रालयले ‘सार्वजनिक पूर्वाधार लक्षित सबै आक्रमणलाई नेपाल कडा भर्त्सना गर्दछ’ भनी जनाएको छ।
साउदी अरामकोको तेल उत्पादन तथा प्रशोधन केन्द्रलाई लक्षित गरी गरिएको आक्रमणमा हवाई प्रतिरक्षा प्रणालीले ड्रोनलाई आकाशमै नष्ट गरेको थियो। तर, त्यसको भग्नावशेष खसेर आयल फिल्डको परिसर नजिक रहेको ठेकेदारको गाडीमा आगो सल्किएको थियो, जसबाट कामदारहरूको मृत्यु भएको हो।
परराष्ट्र मन्त्रालयले साउदीमा जारी तनाव वार्ता र संवादमार्फत अन्त्य हुनुपर्ने पक्षमा नेपाल रहेको स्पष्ट पारेको छ। मन्त्रालयले घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ।
यो घटना यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाका सार्वजनिक पूर्वाधारहरूलाई लक्षित गरी आक्रमण तीव्र पारेका बेला भएको हो। साउदी अरेबियाको ऊर्जा मन्त्रालयले तेल उत्पादनमा कुनै असर नपरेको जनाएको छ।
नेपालको परराष्ट्र मन्त्रालयका अनुसार, खाडी क्षेत्रमा करिब १.८ मिलियन नेपाली नागरिकहरू छन्, जसमध्ये अधिकांश आप्रवासी कामदार छन्। यस घटनाले खाडी क्षेत्रमा विदेशी कामदारहरूले सामना गर्ने जोखिमहरूलाई उजागर गरेको छ।
यसअघि दमामको किङ फहद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको छुट्टै आक्रमणमा एक भारतीय नागरिकसहित दुई जनाको मृत्यु भएको थियो। आक्रमणमा मारिएका नेपाली नागरिकको नाम र ठेगाना भने अझै खुलेको छैन।
यसअघि: साउदी अरबमा ड्रोनको अवशेष लागेर नेपालीको मृत्यु, परराष्ट्र मन्त्रालयद्वारा निन्दा
