अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय विदेशमन्त्री डा. एस. जयशंकरलाई ‘के हामी पेन्डुलमको अर्को छेउतिर गइरहेका छौँ?’ भन्दै अन्तर्राष्ट्रिय सहकार्यको भविष्यबारे बिहीबार नयाँदिल्लीमा सीधा प्रश्न गरे। भारतको नयाँदिल्लीमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ अन्तर्गत ‘द जियोपोलिटिक्स अफ सोभरेन चोइस’ सत्रमा उनीहरूबीच विश्व व्यवस्थामा देखिएको परिवर्तनमाथि छलफल भएको हो।
वाग्लेको बहुपक्षीयता र क्षेत्रीय सहकार्यमाथि जिज्ञासा
अर्थमन्त्री वाग्लेले शीतयुद्धको अन्त्यपछि विश्वले व्यापार र आर्थिक क्षेत्रमा बहुपक्षीयतालाई प्राथमिकता दिएको स्मरण गराए। उनले पछिल्ला वर्षमा त्यसको आधार कमजोर बन्दै गएको, व्यापारिक गुटहरूको विस्तार र विश्वव्यापी विखण्डन बढिरहेको उल्लेख गरे। वाग्लेले विपद् प्रतिकार्य, पोषण, ऊर्जा तथा स्वच्छ ऊर्जाजस्ता क्षेत्रमा द्विपक्षीय, त्रिपक्षीय र क्षेत्रीय सहकार्यलाई कसरी संस्थागत गर्न सकिन्छ भन्नेमा जिज्ञासा राखे।
डा. वाग्लेले अन्तर्राष्ट्रिय सहकार्यका प्रयासलाई औपचारिक संस्थागत संरचनाले बलियो बनाउनुपर्ने हो वा साझेदार मुलुकबीचको समझदारीका आधारमा अघि बढाउनु उपयुक्त हुने हो भन्ने प्रश्नसमेत गरे। उनले बहुध्रुवीय विश्व व्यवस्थालाई क्षेत्रीय तथा उपक्षेत्रीय सहकार्यले कसरी सहयोग पुर्याउन सक्छ भन्ने विषयमा जयशंकरको धारणा मागेका थिए।
जयशंकरको ‘तदर्थ’ सहकार्यको प्रवृत्ति
जवाफमा भारतीय विदेशमन्त्री जयशंकरले पछिल्ला दुई दशकमा देशहरू औपचारिक प्रतिबद्धताभन्दा व्यावहारिक सहकार्यतर्फ आकर्षित हुँदै गएको बताए। उनका अनुसार औपचारिक संस्थागत संरचना निर्माण गर्ने क्रममा आपसी वार्ता, प्रशासनिक प्रक्रिया, आर्थिक दायित्व र नियम निर्धारणमै धेरै समय खर्च हुने हुँदा कतिपय अवस्थामा मूल उद्देश्य नै ओझेलमा पर्ने गरेको छ।
जयशंकरले औपचारिक संरचना आवश्यक पर्ने क्षेत्रमा त्यस्तो व्यवस्था उपयुक्त हुने उल्लेख गर्दै सबै सहकार्यलाई संस्थागत संरचनामा बाँध्न आवश्यक नरहेको धारणा राखे। उनले अन्तर्राष्ट्रिय सौर्य गठबन्धनलाई औपचारिक सहकार्यको उदाहरणका रूपमा प्रस्तुत गर्दै सहकार्यको स्वरूप विषय, साझेदार र प्रतिबद्धताको स्तरअनुसार फरक हुन सक्ने बताए। जयशंकरले ब्रिक्सको उदाहरण दिँदै उक्त समूहको आफ्नै सचिवालय र सबै सदस्यले हस्ताक्षर गरेको लिखित बडापत्र नरहेको उल्लेख गरे। उनले ब्रिक्स र सांघाई सहयोग संगठनको संरचनाबीचको भिन्नता औंल्याउँदै सहकार्यका सबै संयन्त्रको स्वरूप एउटै ढाँचामा अघि बढ्न नसक्ने स्पष्ट पारे। ‘तपाईंले मलाई प्रवृत्तिबारे सोध्नुभयो भने, म भन्छु, प्रवृत्ति स्पष्ट रूपमा बढी तदर्थ र बढी समान विचारधाराका समूहहरूतर्फ गइरहेको छ,’ भारतीय मन्त्री जयशंकरले भने।
भारतको ५० समूह निर्माण र नेपालको प्रशंसा
भारतले पछिल्लो दशकमा द्विपक्षीयभन्दा फरक प्रकृतिका त्रिपक्षीय, चतुर्पक्षीय तथा समान विचारधारा भएका मुलुकका करिब ५० वटा समूह निर्माण गरेको प्रसङ्ग जयशंकरले उल्लेख गरे। उनले कम प्रशासनिक भार र परिणाममुखी सहकार्यप्रति देशहरूको रुचि बढिरहेको बताए। यसअघि अर्थमन्त्री वाग्लेले नेपालले भारतबाट प्राप्त गरेको विपद् प्रतिकार्य सहयोगको प्रशंसा गरेका थिए। उनले सन् २०१५ को भूकम्प र हालै रसुवा–भोटेकोशी क्षेत्रमा भएको विपद्का बेला भारतले केही घण्टाभित्रै सहयोग उपलब्ध गराएको स्मरण गर्दै नेपाल त्यसप्रति कृतज्ञ रहेको बताए।
यस संवादले अन्तर्राष्ट्रिय सहकार्यको भविष्यबारे नीति निर्माताहरूबीच गम्भीर बहसको आवश्यकतालाई उजागर गरेको छ।
