जोर्डनको काराक सहरस्थित सेन्ट जर्ज ग्रीक अर्थोडक्स चर्चमा शुक्रबार अन्त्येष्टि समारोह चलिरहेका बेला बन्दुकधारीहरूले अन्धाधुन्ध गोली चलाउँदा सात जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जोर्डनका स्वास्थ्यमन्त्री इब्राहिम अल-बुदुरले जानकारी दिएका छन्।
जोर्डनका गृहमन्त्री माजेन अल-फरायाले आक्रमणकारीहरूलाई ‘चरमपन्थीहरूको गिरोह’ को रूपमा वर्णन गर्दै उनीहरूको खोजी कार्य तीव्र पारिएको बताएका छन्। जोर्डनका राजा अब्दुल्ला द्वितीयले काराकलाई लक्षित गरी गरिएको यो कृत्यलाई ‘आतङ्ककारी कार्य’ भन्दै दोषीहरूविरुद्ध कडा कारबाही गरिने चेतावनी दिएका छन्।
राजा अब्दुल्ला द्वितीयले घाइतेहरूको स्वास्थ्य अवस्था बुझ्न अस्पताल जाने कार्यक्रम रहेकोले काराक अस्पताल वरपर सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ। जोर्डनका प्रधानमन्त्री जाफर हसनले यो आक्रमण ‘चरमपन्थी आतङ्कवादी विचारधारा’ को परिणाम भएको बताउँदै आक्रमणकारीहरूलाई सजाय दिइने र चरमपन्थ फैलाउन खोज्नेहरूविरुद्ध कानूनी कारबाही गरिने प्रतिबद्धता जनाएका छन्।
प्रत्यक्षदर्शी र सुरक्षा अधिकारीहरूका अनुसार अज्ञात आक्रमणकारीहरू गाडीमा चढेर चर्चमा आएका थिए। उनीहरू भित्र प्रवेश गरेर अन्धाधुन्ध गोली चलाएपछि त्यहाँबाट फरार भएका थिए। हालसम्म यो आक्रमणको जिम्मेवारी कसैले पनि लिएको छैन।
आक्रमणको विवरण र प्रत्यक्षदर्शीको बयान
सीसीटीभी फुटेजमा तीन जना सशस्त्र बन्दुकधारीहरू सडकबाट चर्चतर्फ जाँदै गरेको प्रष्ट देखिन्छ। तीमध्ये दुई जना सुरुमा प्रवेशद्वारतर्फ अघि बढेका र केही बेरपछि पछि हटेर तेस्रो व्यक्तिलाई लिएर पुनः फर्किएको दृश्यमा कैद भएको छ। आक्रमणकारीहरूले एके-४७ राइफल र तीनवटा ह्यान्डगन प्रयोग गरेको बताइएको छ।
आक्रमणको समयमा चर्चभित्र १५० देखि २०० जना मानिसहरू उपस्थित थिए। बन्दुकधारीहरूले गोली चलाउन थालेपछि चर्चभित्र भागदौड मच्चिएको थियो। मानिसहरू ज्यान बचाउन झ्यालबाट भाग्ने र बेन्चमुनि लुक्ने प्रयास गरिरहेका थिए।
चर्चभित्र उपस्थित खालिद अल-मदानतले बिबिसी अरेबीलाई बताएअनुसार गोलीबारी करिब १५ मिनेटसम्म चलेको थियो। ‘बच्नका लागि मानिसहरूले एक-अर्कालाई धकेल्ने र जमिनमा लुक्ने प्रयास गरे,’ उनले भने, ‘केही मानिसहरू लुकिरहेका थिए, केहीले आफ्ना मृत आफन्तलाई काखमा बोकेका थिए भने केहीले आफ्ना छोराछोरीलाई समातेर भागिरहेका थिए।’
अर्का एक प्रत्यक्षदर्शीले सुरुमा बिजुली सर्ट भएको जस्तो लागे पनि पछि भुइँमा मानिसहरू रगतमा लतपतिएर छटपटाइरहेको देखेपछि मात्रै गोलीप्रहार भएको थाहा भएको बताए। प्रार्थना सुरु भएको केही सेकेन्डमै मेसिनगनको आवाज र सिसा फुटेको आवाज आएको चर्चभित्र रहेकी एक महिलाले बताइन्।
अन्तर्राष्ट्रिय निन्दा र जोर्डनको प्रतिक्रिया
लेबनानका राष्ट्रपति जोसेफ औनले यस ‘जघन्य आतङ्ककारी हमला’ को भर्त्सना गर्दै यो घटनाले मृत्यु र अन्त्यसंस्कारजस्तो पवित्र संस्कारको समेत उल्लङ्घन गरेको बताएका छन्। मुस्लिम बाहुल्य जोर्डनमा यस्ता साम्प्रदायिक हमलाहरू विरलै हुन्छन्, जहाँ क्रिश्चियन समुदायले कुल जनसंख्याको २ प्रतिशत मात्र ओगटेको छ। काराकमा पनि इसाई समुदायको उल्लेख्य बसोबास छ।
सन् २०१६ मा पनि काराक प्रान्तमा इस्लामिक स्टेट (आईएस) ले गरेको आतङ्कवादी हमलामा १४ जनाको मृत्यु भएको थियो र ३७ जना घाइते भएका थिए। जोर्डन सरकारले घटनाको अनुसन्धान गरिरहेको छ र आक्रमणकारीहरूलाई पक्राउ गर्न खोजी अभियान चलाइएको छ। जोर्डनले तीन दिनको राष्ट्रिय शोक घोषणा गरेको छ।
