मधेश प्रदेश सरकारको महिला समुत्थान परियोजनाको आयोजनामा आज जनकपुरधाममा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान प्रभातफेरी र्यालीसहित सुरु भएको छ। यो अभियान विभिन्न संघसंस्थाको समन्वय र सहकार्यमा शुभारम्भ गरिएको हो।
२०८३ मंसिर ९ गते बुधबार बिहान ७ बजेदेखि ९ बजेसम्म चलेको प्रभातफेरी र्याली जनक चोकमा भेला भई रेलवे स्टेसनसम्म पुगेको थियो। सहभागीहरूले सचेतनामूलक प्लेकार्ड बोकेर लैङ्गिक हिंसा अन्त्यको सन्देश प्रवाह गरेका थिए।
कार्यक्रममा एम्नेस्टी इन्टरनेसनल नेपाल, जनकपुरधाम ५७ समूहका अध्यक्ष मनिष श्रीओम र उनको कार्यसमितिले सक्रिय भूमिका निर्वाह गरेका थिए। अभियानको पहिलो दिन सहभागीहरूले पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चिततामा जोड दिए।
यो अभियान हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० (२०८३ मंसिर ९ देखि २४ गतेसम्म) मनाइन्छ। अभियानको राष्ट्रिय नारा ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता: पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ रहेको छ।
अभियान आगामी मंसिर २४ गते (डिसेम्बर १०) सम्म जनकपुरधामसहित मधेश प्रदेशका विभिन्न स्थानमा विविध सचेतनामूलक कार्यक्रमसहित जारी रहनेछ।



