महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले पूर्वप्रहरी महानिरीक्षक दानबहादुर कार्कीको बढुवा भएकाले मुद्दा हैन खुसीयालीमा लड्डु बाँड्नुपर्ने टिप्पणी सर्वोच्च अदालतमा जवाफी बहसका क्रममा गरेका छन्। कार्कीले आफूलाई प्रहरी महानिरीक्षक पदबाट हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेपछि कँडेलले यस्तो धारणा राखेका हुन्।
सरकारले कार्कीलाई आईजीपीबाट बढुवा गरेर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाएको महान्यायाधिवक्ता कँडेलले बताए। उनले सल्लाहकारहरू मन्त्रीको हैसियतमा सेवा सुविधा लिएर काम गरिरहेको उल्लेख गर्दै ५ वर्ष टिक्ने सरकारका कार्यकारी प्रमुख प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पद पाउनु सामान्य नभएको तर्क गरे।
सरकारको उक्त निर्णय बदर गरी आफूलाई प्रहरी महानिरीक्षक पदमा पुनर्बहालीको माग गर्दै कार्कीले दायर गरेको रिटमा सर्वोच्चमा बहस जारी छ। यसअघि एनएमखबरले पूर्वआईजीपी दानबहादुर कार्कीको रिटमा सुनुवाइ सुरु भएको समाचार प्रकाशित गरेको थियो।
अन्तरिम आदेश नदिन कँडेलका तीन आधार
महान्यायाधिवक्ता कँडेलले कार्कीको रिटमा अन्तरिम आदेश दिन नहुने भन्दै तीनवटा आधार अघि सारेका छन्। पहिलो, रिट निवेदनमा निर्णय गर्ने पक्षलाई विपक्षी नबनाइएको।
दोस्रो, सरकारको निर्णय कार्यान्वयन भइसकेको अवस्थामा अन्तरिम आदेश दिन नमिल्ने। यसका लागि उनले पूर्वएआईजी विश्वराज पोखरेलको मुद्दाको नजिर उल्लेख गरे। तेस्रो, सरकारको निर्णय कार्यान्वयन गर्न र शान्ति सुरक्षा कायम गर्नका लागि पनि हाललाई अन्तरिम आदेश दिन नमिल्ने कँडेलको तर्क छ।