मध्यपहाडी राजमार्गको रुकुम पश्चिम चौरजहारी खण्ड आज (जेठ २) देखि सडक ढलानका लागि २० दिन बन्द भएको छ।
सडक डिभिजन कार्यालय, चौरजहारीले निर्माण कार्यलाई तीव्रता दिन र गुणस्तरीय ढलानका लागि सवारी आवागमन रोक्नु अनिवार्य भएको जनाएको छ।
यो सडक खण्ड स्यालापाखा–मुसिकोट खण्ड अन्तर्गत पर्छ। चौरजहारी नगरपालिका वडा नं. ३ को टाँटागाउँ स्यालाखोला (चौरजहारी) देखि मटेलातर्फ जोड्ने सडकमा आवधिक मर्मत सम्भार भइरहेको छ।
यो सडक जेठ २ गतेदेखि जेठ २२ गतेसम्म पूर्ण बन्द रहनेछ।
सडक बन्द भएको अवधिभर यात्री तथा सवारी साधनहरूका लागि वैकल्पिक मार्ग तोकिएको छ। चौरजहारी–रुकुम पश्चिमदेखि कुदु–जाजरकोट झोलुङ्गे पुल हुँदै यात्रा गर्न अनुरोध गरिएको छ।
