बुटवल उपमहानगरपालिकाका कर्मचारीले सडकमा गाईवस्तु लखेट्दै निर्मम कुटपिट गर्दा एउटा बाछोको खुट्टा भाँचिएको छ।
भाइरल भिडियोमा मानिसहरूको समूहले लट्ठीले हिर्काउँदा अन्य गाईवस्तुहरू पनि सकिनसकी भागेका छन्।
भीडबाट भाग्न खोज्ने गोरुलाई मानिसहरूले निर्जीव वस्तुझैँ हिर्काए। यो क्रूरताको रमिता हेर्न ठूलो भीड जम्मा भएको थियो, केहीले मोबाइलमा भिडियो कैद गरे।
घटनास्थलमा सुरक्षाकर्मी उपस्थित थिए, तर अवोध पशुप्राणीमाथिको ज्यादती रोक्न पहल गरेनन्। सामाजिक सञ्जालमा यस घटनाको चर्को आलोचना भइरहेको छ।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले बुटवल नगरपालिकाका कर्मचारीको कार्यलाई ‘आपराधिक’ टिप्पणी गरेका छन्।
यसैबीच, उपमहानगर प्रमुख खेलराज पाण्डेय स्वयं लट्ठी बोकेर गाईवस्तु लखेट्न निस्किएको तस्बिर भाइरल छ। उनले एक भिडियो सन्देशमा गाईगोरु लखेट्ने अभियान चलाएको बताएका छन्।
मेयर पाण्डेयले स्थानीयवासीलाई बिहान ७ बजेबाट गाईवस्तु लखेट्न आह्वान गरेका छन्। यो अभियान आगामी ७ गतेसम्म निरन्तर चल्ने उनको भनाइ छ।
बेवारिसे गाईवस्तुले सडक आवागमनमा अवरोध पुर्याए पनि पशुलाई कुटेर व्यवस्थापन नहुने धेरैको तर्क छ। उपभोग अयोग्य पशुलाई सही व्यवस्थापन गर्न र क्रूर व्यवहार नगर्न सुझाव दिइएको छ।
