नेपाल वायुसेवा निगमले विदा स्वीकृत नगराई अनुपस्थित दुई पाइलटसहित पाँच कर्मचारीलाई बर्खास्त गर्ने प्रक्रिया थालेको छ।
निगम सञ्चालक समितिले निर्णय गरेपछि मानव संशाधन विभागले सोमबार सूचना जारी गर्यो। कर्मचारीहरूलाई सफाई पेश गर्न अन्तिम मौका दिइएको छ।
कारबाही प्रक्रियामा पर्नेहरूमा क्याप्टेन सञ्जय बाँदे श्रेष्ठ, को-पाइलट विवेक प्याकुरेल, अटोमोवाइल इन्जिनियर सरोज कार्की र विदित देवकोटा तथा प्राविधिक अधिकृत उमेश कुमार साह रहेका छन्।
निगमको रेकर्डअनुसार क्याप्टेन श्रेष्ठ २०७६ सालदेखि नै कार्यालयमा अनुपस्थित छन्।
नेपाल वायुसेवा निगमका कर्मचारीहरूको सेवा शर्त सम्बन्धी विनियमावली, २०५८ को विनियम ९३ (१) (क) मा विदा स्वीकृत नगराई लगातार ३० दिनभन्दा बढी समयसम्म कार्यालयमा अनुपस्थित रहने कर्मचारीलाई सेवाबाट हटाउन सकिने प्रावधान छ।
सोही कानुनी आधारमा टेकेर निगमले उनीहरूलाई बर्खास्त गर्नुअघि स्पष्टीकरण सोधेको हो।
