समस्याग्रस्त सहकारीका ३७८ साना बचतकर्तालाई सरकारले रकम फिर्ता सुरु गरेको छ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज पहिलो दिन कान्तिपुर, शिव शिखर बहुउद्देश्यीय र पशुपति सहकारीका ती बचतकर्तालाई रकम फिर्ता गर्यो।
समितिका अनुसार कान्तिपुर सहकारीका २१५ जना, शिव शिखर बहुउद्देश्यीय सहकारीका १५६ जना र पशुपति सहकारीका ७ जना साना बचतकर्ताले बचत फिर्ता पाए। प्रारम्भिक चरणमा थोरै बचत रकम भएकालाई प्राथमिकता दिइएको छ।
समितिले अब क्रमशः बचत रकमका आधारमा वर्गीकरण गरेर अन्य बचतकर्ताको रकम पनि फिर्ता गर्दै जाने जनाएको छ। कुल ७६ हजार बचतकर्तामध्ये १८ हजार जनाको बचत पाँच लाखभन्दा बढी छ।
समस्याग्रस्त सहकारीका करिब ७६ हजार बचतकर्ताको करिब ४६ अर्ब रुपैयाँ बचत फिर्ता गर्नुपर्नेछ। पाँच लाखभन्दा कम रकम बचत गर्नेलाई साना र पाँच लाखभन्दा बढी बचत गर्नेलाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलका अनुसार बचत फिर्ताका लागि ऋण असुली कार्य तीव्र पारिएको छ। ऋणीहरूको नाम सार्वजनिक भएपछि उनीहरूले ऋण फिर्ता गर्न थालेका छन्।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार ऋणीहरूबाट हालसम्म २ करोडभन्दा बढी ऋण असुल भइसकेको छ।
समितिले ऋण असुली र बचत फिर्ताको प्रक्रिया सँगसँगै अघि बढ्ने बताएको छ।
