काभ्रेको नमोबुद्ध नगरपालिकास्थित २६ नम्बर बाहिनी सैनिक ब्यारेक वरपर मरेका कागमा ‘लो प्याथोजेनिक एच–९’ बर्डफ्लु पुष्टि भएको छ।
प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले वडा नं. २ मा बर्डफ्लु पुष्टि भएको जानकारी दिए।
नगरपालिकाले नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वर पठायो। प्रयोगशालाको नतिजाले ‘लो प्याथोजेनिक एच–९’ बर्डफ्लु पुष्टि गर्यो।
मानव स्वास्थ्यमा जोखिम न्यूनीकरण गर्न नगरपालिकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। संक्रमण फैलिन नदिन सबै सरोकारवालालाई सचेत गराइएको छ।
नगरपालिकाले कुखुरा फार्ममा जैविक सुरक्षा विधि कडाइका साथ लागू गर्न निर्देशन दियो। अनावश्यक व्यक्ति तथा सवारीसाधन प्रवेशमा रोक लगाउन भनिएको छ। फार्म परिसरमा अन्य पशुपन्छी प्रवेश निषेध गरिएको छ। फार्मका सामग्री नियमित नि:संक्रमण गर्न आग्रह गरिएको छ।
कुखुरा पालक कृषकलाई व्यक्तिगत सरसफाइमा ध्यान दिन अनुरोध गरिएको छ। बिरामी कुखुरा देखिए तत्काल पशु सेवा कार्यालयमा जानकारी गराउनुपर्छ। खुला रूपमा कुखुरा पालन नगर्न पनि आग्रह गरिएको छ।
कुखुरा तथा कुखुराजन्य उत्पादन ओसारपसार गर्दा भेटेरिनरी प्रमाणपत्र अनिवार्य छ। स्वास्थ्य परीक्षण गरेर मात्र ओसारपसार गर्न निर्देशन दिइएको छ। कुनै फार्ममा अस्वाभाविक रूपमा कुखुरा बिरामी वा मरेको पाइए तत्काल खबर गर्न आग्रह गरिएको छ।
