पाटन नगरपालिकाका किसान आलु र बेमौसमी तरकारी खेतीबाट वार्षिक १० लाखसम्म आम्दानी गर्छन्। कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशीका अनुसार बैतडीबाट मात्रै वार्षिक डेढदेखि दुई करोड रुपैयाँको आलु निर्यात हुन्छ। यस वर्ष पानीको राम्रो उपलब्धताले उत्पादन २० प्रतिशतसम्म बढ्ने अनुमान छ।
सिद्धेश्वर बृहत आलु क्षेत्र विस्तार कार्यक्रम घोषणा भए पनि किसान व्यावसायिक खेती गर्छन्। तर, शीतभण्डार सुविधा नहुँदा आलुको बीउ राख्न डडेल्धुरा जानुपर्ने बाध्यता छ।
प्रदेश र संघीय सरकारको लगानीमा पाटन–८ खोड्पेमा दुई शीतभण्डार बने। ती वर्षौंदेखि सञ्चालनमा छैनन्। किसानहरू सरोकारवालाले चासो नदिएको गुनासो गर्छन्। किसान नरबहादुर विष्ट भन्छन्, ‘बनेका शीतभण्डार प्रयोगमा नआउँदा मौसमी तरकारी भण्डार गरी बेमौसममा बिक्री गर्ने अवसर गुमेको छ। बिक्री नभएका तरकारी फ्याँक्नुपर्छ।’
खोडपेमा प्रदेश सरकारको ४२ लाख लागतमा बनेको शीतभण्डारका सञ्चालक मोहनदेव भट्ट सम्पर्कमा नरहेको कृषि ज्ञान केन्द्रका प्रमुख जोशीले बताए। अर्को शीतभण्डारमा विद्युत् जडान छैन। सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयका सूचना अधिकारी विशाल श्रेष्ठका अनुसार विद्युत् जडानका लागि बजेट नआएकाले आगामी वर्ष माग गरिएको छ।
