जनकपुरधाममा ‘अग्रगामी मोर्चा’को मधेस प्रदेशस्तरीय बैठकले प्रदेश समिति गठन, जिल्ला जिम्मेवारी बाँडफाँट र आगामी रणनीतिक भेला तय गरेको छ। जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा बसेको बैठकले मोर्चाको प्रदेश समिति गठन, जिल्ला समिति गठनको जिम्मेवारी बाँडफाँट र आगामी रणनीतिक भेला तथा कार्यक्रम तय गरेको हो।
बैठकले सिरहाका गणेश यादवको प्रहरी गोली प्रहारबाट भएको मृत्यु र बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको हत्या घटनाप्रति गम्भीर दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गर्यो। मोर्चाले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्यो। दुवै घटनाका पीडित परिवारलाई अविलम्ब न्याय र उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेको छ।
मोर्चा आबद्ध घटक दलहरूबाट प्रतिनिधित्व रहने गरी मधेस प्रदेश समन्वय समिति गठन गरिएको छ। जसपा नेपालबाट बालकिशोर प्रसाद यादव र रामविनोद चौधरी, जनमत पार्टीबाट गजानन्द यादव र रामप्रसाद मण्डल, आम जनता पार्टीबाट उमेश कुशवाहा र राधेश्याम साह, नागरिक उन्मुक्ति पार्टीबाट पृथ्वीनारायण सिंह थारु र समसुल नागेन्द्रप्रसाद चौधरी, नेपाल जनमुक्ति पार्टीबाट भुवन थापामगर र रामएकवाल मण्डल, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट अमिताभ बच्चन दास र किशोरी यादव, नेपाल सङ्घीय समाजवादी पार्टीबाट विमला अंसारी र सैदर अंसारी तथा बहुजन एकता पार्टीबाट प्रकाश महरा र सुजित महरा सदस्य छन्।
आगामी भदौ १० गतेभित्र मधेसका आठ वटै जिल्लामा जिल्ला समन्वय समिति गठन गरिनेछ। जिल्ला समन्वय समिति गठनका लागि घटक दलहरूलाई जिम्मेवारी तोकिएको छ। सप्तरीमा जनमत पार्टी, सिराहामा बहुजन एकता पार्टी, महोत्तरीमा नेपाल जनमुक्ति पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी, सर्लाहीमा नागरिक उन्मुक्ति पार्टी, रौतहटमा आम जनता पार्टी, बारमा जसपा नेपाल र आजपा, धनुषामा जसपा नेपाल र पर्सामा प्रलोपालाई जिम्मेवारी दिइएको छ।
मोर्चाले सङ्गठन विस्तार तथा जनपरिचालनका लागि दुई ठुला क्षेत्रीय भेला आयोजना गर्ने निर्णय गरेको छ। आगामी भदौ २७ गते जनकपुरमा सप्तरी, सिराहा, धनुषा, महोत्तरी र सर्लाही गरी ५ जिल्लाको संयुक्त भेला हुनेछ। रौतहट, बारा र पर्सा जिल्लालाई समेटेर आगामी असोज ३ गते वीरगन्जमा मोर्चाको वृहत् भेला आयोजना गरिनेछ।
