काभ्रेपलाञ्चोकका रोशी खोला र वाग्मती नदीमा बाढीले क्षतिग्रस्त भएका ६ झोलुङ्गे पुलको पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेको छ। विशेषगरी जिल्लाको दक्षिणी क्षेत्रमा २०८१ असोजमा आएको बाढीले क्षति पुर्याएका पुलहरू अब झन्डै दुई वर्षपछि बन्ने भएका छन्।
सहरी विकास मन्त्रालयअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजनका सूचना अधिकारी सिनियर डिभिजन इन्जिनियर प्रेमनारायण बस्यालका अनुसार नमोबुद्ध नगरपालिका, रोशी र तेमाल गाउँपालिका जोड्ने पुलहरू पुनर्निर्माणको प्रक्रिया अघि बढेको छ। रोशी गाउँपालिका–३ का पिपलटार सुँगुरेडाँडा, खाक्सी, माम्ती पिप्ले (लोङसाङ–कालढुङ्गा) र पिप्लेदोभानका झोलुङ्गे पुल यसमा पर्छन्।
त्यस्तै, रोशी–९ को नार्के झोलुङ्गे पुल र रोशी–७ को कटुञ्जेबेँसी–१ युएस झोलुङ्गे पुल पुनर्निर्माणका लागि रु तीन करोडदेखि रु पाँच करोड ५० लाखसम्म स्रोत विनियोजन भएको छ। वाग्मती नदीमा आएको बाढीले क्षति पुर्याएको खानीखोला गाउँपालिका र मकवानपुर जोड्ने फार्सा झोलुङ्गे पुलको पनि पुनर्निर्माण हुनेछ।
सूचना अधिकारी बस्यालले चालु आर्थिक वर्षभित्र ठेक्का आह्वान गरी आगामी आर्थिक वर्षदेखि निर्माण सुरु गरिने बताए। यो बहुवर्षीय योजना भएकाले डेढदेखि दुई वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य छ। पुल पुनर्निर्माणका क्रममा जग्गा विवाद देखिए तत्कालका लागि रोकेर अन्य योजनालाई प्राथमिकता दिइनेछ।
२०८१ असोजको बाढीले बिपी राजमार्गको करिब ३० किलोमिटर सडक तथा यसमा जोडिएका संरचनामा पनि क्षति पुर्याएको थियो। रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले पुल बगाएपछि स्थानीयले आवतजावतमा सास्ती भोग्नुपरेको बताए। वर्षायाममा खोला बढेपछि वैकल्पिक पक्की वा झोलुङ्गे पुल प्रयोग गर्न एक घण्टा टाढा जानुपर्ने बाध्यता छ। यसअघि, तेमाल गाउँपालिका र मङ्गलटार जोड्ने रोशी खोलाको फलामे पुल बगाएपछि वैकल्पिक मार्गका लागि बेलीब्रिज जडान गर्न सडक विभागलाई अनुरोध गरिएको थियो।
