सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र हवाई सेवा प्रदायक गरी दुई छुट्टाछुट्टै निकायमा विभाजन गर्ने विधेयक अन्तिम चरणमा पुर्याएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा सो जानकारी दिएका हुन्।
मन्त्री पौडेलका अनुसार, प्राधिकरणलाई दुई भागमा विभाजन गर्ने प्रस्तावसहितको विधेयक तयार भइसकेको छ। यसलाई कानुनी रायका लागि समेत पेश गरिएको छ। प्रस्तावित विधेयकले नेपाल नागरिक उड्डयन प्राधिकरण र हवाई सेवा प्राधिकरण गरी दुई नयाँ निकाय बनाउने प्रस्ताव गरेको छ।
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा छलफल भइरहेको ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३’ का धेरैजसो सैद्धान्तिक विषयहरू नयाँ संरचनामा बन्ने हवाई सेवा प्राधिकरणसँग पनि सम्बन्धित हुने मन्त्री पौडेलले बताए।
उनले सबै विषय एउटै कानुनमा समेट्न आवश्यक नरहेको स्पष्ट पारे। आन्तरिक वायुसेवा प्रदायकले हाल गरिरहेका वा कतिपय अवस्थामा स्वतःस्फूर्त रूपमा गर्दै आएका गतिविधिहरूलाई नियमन गर्न कानुनी आधार तयार गर्ने उद्देश्यले विधेयक प्रस्तुत गरिएको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायकका रूपमा छुट्याउने विषय लामो समयदेखि बहसमा रहँदै आएको छ। मंगलबारको बैठकमा सांसदहरूले आन्तरिक हवाई सेवासँग सम्बन्धित प्रश्न तथा सुझाव राखेका थिए।
