केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दीपक भट्टसँग जोडिएका ५६ जना लगानीकर्ता तथा विभिन्न कम्पनीका उच्च पदस्थ अधिकारीहरूको सेयर रोक्का गर्न निर्देशन दिएको छ। उनीहरूको लगानी विवरण खुलाएर पठाउन सीआईबीले नेपाल धितोपत्र बोर्डलाई पत्र लेखेको छ।
धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेकोले उक्त व्यक्तिको लगानीसम्बन्धी विवरण पठाउन सीआईबीले बोर्डलाई भनेको छ। अनुसन्धान अवधिभर उनीहरूको सेयर बिक्री वा हस्तान्तरणमा रोक लगाउनसमेत पत्राचार गरिएको छ।
सेयर कारोबार रोक्का गर्न भनिएका व्यक्तिहरूमा हिमालयन रिइन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, हिमालयन सेक्युरिटी बैंकर, क्यापसर्भ लि., गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, हिमालयन इन्भेस्टमेन्ट बैंकर्स, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स र हिमालयन लाइफ इन्स्योरेन्सका व्यवस्थापक तथा मुख्य सेयरधनीहरू रहेका छन्।
