स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केबरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको टेन्डर प्रक्रिया अघि बढेको जानकारी आइतबार दिएकी छन्। मन्त्री मेहताले प्रस्तावित स्थलको निरीक्षण गर्दै टेन्डरसम्बन्धी कागजात स्वास्थ्य मन्त्रालयबाट हस्ताक्षर भई पूर्वाधारसम्बन्धी निकायमा पठाइसकिएको बताइन्।
आवश्यक प्रक्रिया पूरा भएपछि टेन्डर आह्वान हुने र त्यसपछि निर्माण कार्य सुरु हुने उनको भनाइ छ। मन्त्री मेहताले भनिन्, ‘ट्रमा सेन्टर बन्छ कि बन्दैन भन्ने अन्योल अब राख्नुपर्दैन। यो आयोजना सरकारको बहुवर्षीय योजनामा समावेश भइसकेको छ।’ उनले निर्माणस्थलको तयारी उपयुक्त देखिएको र छिट्टै शिलान्यास हुने विश्वास व्यक्त गरिन्।
प्रतिनिधिसभा सदस्य राजकिशोर महतोले ढल्केबरका नागरिकले लामो समयदेखि ट्रमा सेन्टरको आश्वासन पाउँदै आएको बताए। उनले आश्वासनले मात्र चित्त बुझाउने अवस्था नरहेको भन्दै भवन निर्माण सुरु भएपछि मात्र स्थानीयवासीमा विश्वास जाग्ने उल्लेख गरे।
संघीय सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा ढल्केबरमा ट्रमा सेन्टर निर्माणका लागि पहिलोपटक रकम विनियोजन गरेको थियो। मिथिला नगरपालिका–७ स्थित ढल्केवरमा ट्रमा सेन्टरका लागि चार बिघा जग्गा खरिद गरिसकिएको छ।
ट्रमा सेन्टर निर्माणपछि धनुषासहित आसपासका जिल्लाका नागरिकलाई लाभ पुग्ने प्रतिनिधिसभा सदस्य राजकिशोर महतोले बताए। विशेषगरी पूर्वपश्चिम राजमार्गमा हुने सडक दुर्घटनाका घाइते तथा गम्भीर बिरामीलाई समयमै उपचार उपलब्ध गराउन यसले सहज बनाउने उनको भनाइ छ।
यद्यपि, टेन्डर कहिले आह्वान हुन्छ र निर्माण कार्य कहिले सुरु हुन्छ भन्ने निश्चित मिति मन्त्री मेहताले बताएकी छैनन्।
