नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको सूचना प्रविधि (आईटी) र डिजिटल अर्थतन्त्रलाई विश्वबजारमा प्रतिस्पर्धी बनाउन नीतिगत सुधार र द्रुत कार्यसम्पादन आवश्यक रहेको बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार आयोजित ‘डिजिटल इकोनोमीः स्थानीय रोजगार र पहुँच विश्वबजार’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै थापाले सरकारले यस क्षेत्रमा उच्च महत्वाकाङ्क्षा राख्नुपर्ने र निजी क्षेत्रको क्षमतामाथि भरोसा गर्नुपर्नेमा जोड दिए।
उनले सरकारले मात्र सबै कुरा जान्दछ भन्ने मानसिकता त्याग्नुपर्ने उल्लेख गर्दै निजी क्षेत्रको विज्ञता र बजारको गतिशीलतालाई स्वीकार गर्न आग्रह गरे।
थापाले डिजिटल अर्थतन्त्रलाई नेपालको अर्थतन्त्रको मुख्य मेरुदण्ड (ब्याकबोन) बनाउन सकिने सम्भावना औँल्याउँदै यसलाई कुनै एक राजनीतिक दलको मात्र नभई साझा एजेन्डा बनाउनुपर्ने धारणा राखे।
उनले नेपालको शैक्षिक उत्पादन र बजारको मागबीच ठूलो अन्तर रहेको उल्लेख गर्दै दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताए।
थापाले संसदमा यस विषयमा हुने बहसलाई थप प्रभावकारी र तथ्यपरक बनाउन आवश्यक सामग्री र अध्ययन प्रतिवेदनहरू सांसदहरूलाई तत्काल उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिए।
उनले यसका लागि आवश्यक नीतिगत सुधारका प्रक्रियाहरूलाई द्रुत गतिमा अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याए।
