NM Khabar 5 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

डोल्पामा बाढीले बगाउँदा एकको मृत्यु, ६ घाइते; सुर्खेत-दैलेख-अछाममा उच्च जोखिम

डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा आइतबार बिहान आएको बाढीले स्थानीय ५६ वर्षीया आनन्दी विकको ज्यान लिएको छ। बाढीले ६ जनालाई घाइते बनाएको छ। यसैबीच, बाढी पूर्वानुमान महाशाखाले सुर्खेत, दैलेख र अछाममा बाढीको उच्च जोखिम रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ।
Maya Thapa
Maya Thapa
5 July 2026, 7:32 am १ मिनेट पढाइ
आकार:
Share:

डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा आइतबार बिहान करिब ३ बजे आएको बाढीले स्थानीय ५६ वर्षीया आनन्दी विकको ज्यान लिएको छ। बाढीले ६ जनालाई घाइते बनाएको छ।

निरन्तरको वर्षासँगै धुलाखोला तथा आसपासका खहरेमा आएको हिलोमाटोसहितको बाढी गाउँमा पसेको थियो। घाइते विकलाई उद्धार गरी स्वास्थ्य चौकी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

प्रहरीका अनुसार बाढीमा परी अन्दाजी ५० वर्षीय चाउरी विक, ४४ वर्षीय रेउली विक, ४८ वर्षीय विष्णु विक, १५ वर्षीया निरुता विक, १३ वर्षीया सीता विक र ६५ वर्षीय जस विक घाइते भएका छन्। उनीहरुको स्थानीय झ्याकोट स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। घाइते रेउली विकको अवस्था गम्भीर छ। उनलाई थप उपचारका लागि जुम्ला रेफर गरिएको छ।

स्थानीयका अनुसार बाढीले करिब १५/१६ मिटरसम्म बगाएको थियो। यसले घाइतेहरुको ढाड, टाउकोलगायत शरीरका विभिन्न भागमा चोट पुर्‍याएको छ। प्रहरी चौकी माझगाउँबाट खटिएको टोलीले स्थानीयवासीको सहयोगमा उद्धार कार्य गरेको थियो।

यसैबीच, बाढी पूर्वानुमान महाशाखाले सुर्खेत, दैलेख र अछामसहित आसपासका नदी तथा खोलामा बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। गए राति यी जिल्लाहरूमा पनि पानी परेको थियो।

Maya Thapa

Maya Thapa

संवाददाता · NM Khabar

माया थापा NM खबरकी फिचर लेखिका हुन्। मानवीय रुचिका कथाहरू, महिला सशक्तीकरण र बाल अधिकारका मुद्दाहरूमा उनको संवेदनशील रिपोर्टिङले पाठकको मन छुन्छ। समाजका उपेक्षित पाटाहरूलाई उजागर गर्नु उनको पत्रकारिताको मूल उद्देश्य हो।

सम्बन्धित समाचार