रसुवाको भोटेकोशी बाढीले जलविद्युत् आयोजनाहरूमा पुर्याएको क्षतिको खोज, उद्धार र पुनर्निर्माणको तत्काल जानकारी लिन ऊर्जा मन्त्रालयले ‘रियल टाइम अपडेट सिस्टम’ बनाउँदैछ। यस प्रणालीले प्रभावित १६ आयोजनाको विवरणमाथि निगरानी राख्नेछ।
ऊर्जामन्त्री विराज भक्त श्रेष्ठले आइतबारको उच्चस्तरीय व्यवस्थापन संयन्त्र (एसएमटी) बैठकमा यो सूचना प्रणाली बनाउन निर्देशन दिए। यसअघि मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग समन्वय गर्दै आएको थियो।
प्रवक्ता मोहनकुमार शाक्यका अनुसार अब मन्त्रालयले आफ्नै सूचना प्रणालीमार्फत कुन आयोजनामा के भइरहेको छ भन्ने वास्तविक विवरण पाउनेछ।
“कति मान्छे फसेका छन्? सुरुङभित्र र बाहिर कति छन्? १६ आयोजनामा कहाँ-कहाँ उद्धार भइरहेको छ? कतिको उद्धार गरियो? भित्र के प्रयास हुँदैछ? सामग्रीको परिचालन कसरी भइरहेको छ? राष्ट्रिय र अन्तर्राष्ट्रिय विज्ञलाई कसरी जोड्ने? यी सबैको विवरण हामीसँग हुनेछ,” शाक्यले भने।
उनले बाढी आएको पहिलो दिनदेखि छैटौँ दिनसम्मका उद्धार गतिविधिलाई समेत लिपिबद्ध गर्ने प्रयास भइरहेको बताए।
यो प्रणालीले सुरुङभित्र र बाहिरका श्रमिकको स्थिति, उद्धारको प्रगति, सामग्री परिचालन र विज्ञको सहभागिताबारे अभिलेख राख्नेछ।
मन्त्रालयका अनुसार बाढीले ४०० मेगावाटभन्दा बढी विद्युत् उत्पादन क्षमतामा असर पारेको छ। यसले कुल विद्युत् आपूर्तिको करिब १० प्रतिशत हिस्सा ओगट्छ। प्रभावित संरचनाको पुनर्निर्माण र आपूर्ति प्रणाली सामान्य बनाउन एसएमटीमार्फत काम भइरहेको छ।
