राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा सांसदहरूले ‘जेनजी एमपीज् ग्रुप’ नामको आफ्नै ह्वाट्सएप ग्रुप बनाएका छन्। यो ग्रुप युवा सांसदहरूबीच आपसी छलफल र जेनजी आन्दोलनका मुद्दाहरूमा केन्द्रित छ। तर, हालै यो ग्रुपमा गृहमन्त्री सुधन गुरुङ र रास्वपाकी सचेतक क्रान्तिशिखा धितालबीच चर्काचर्की भएको छ, जसले पार्टीभित्र तरंग ल्याएको छ।
सांसद आकृति अवस्थीका अनुसार यो ग्रुप युवा सांसदहरूले एकअर्कासँग कुरा गर्नका लागि बनाएका हुन्। गृहमन्त्री गुरुङलाई जेनजी आन्दोलनमा सहभागी भएको आधारमा यसमा राखिएको छ। ग्रुपको मुख्य उद्देश्य जेनजी सांसदहरूले जेनजीका मुद्दाहरूमा छलफल गर्ने र यसलाई एक परिवारजस्तो बनाउने हो।
तर, मंगलबार साँझ उक्त ग्रुपमा गृहमन्त्री गुरुङले रास्वपाकी सचेतक क्रान्तिशिखा धिताललाई लक्षित गर्दै कडा प्रश्न सोधेका थिए। उनले ‘थाहा नभएको कुरा बोलेको किन? न आन्दोलनको मर्म थाहा छ, स्टाटस लेखेर आफ्नै साथीलाई कमजोर बनाउन खोज्ने?’ भन्दै धिताललाई प्रश्न गरेका थिए।
नयाँ बानेश्वरमा आयोजित जेनजी स्मृति दिवसको कार्यक्रममा गृहमन्त्री गुरुङले पुराना दल र केही मिडियाप्रति लक्षित गर्दै धम्कीपूर्ण भाषा प्रयोग गरेका थिए। उक्त कार्यक्रममा दुई जना विवादित धर्मगुरुको समेत उपस्थिति थियो। यी सबै दृश्य प्रत्यक्ष देखेकी सचेतक धितालले सामाजिक सञ्जालमा स्टाटस लेख्दै कार्यक्रमको आलोचना गरेकी थिइन्।
धितालले लेखेकी थिइन्, ‘जेनजी आन्दोलनको एक वर्ष पुग्यो भन्दै गर्दा मन बिथोलिएको थियो। तर बीआईसीसी अगाडि जेनजी सहिदहरूको सम्झनामा गरिएको कार्यक्रम देखेपछि म अवाक् छु। मलाई कताकता लाग्यो हामीले जेनजी सहिद र घाइतेहरूको अपमान गरिरहेका छौँ।’ उनले थपिन्, ‘सुध्रिनु अरुले मात्रै पर्ने, हामीले चाहिँ सुध्रिनु नपर्ने? यही दिन देख्नलाई थियो महान् सहिदहरुको बलिदान?’
गृहमन्त्री गुरुङले आफ्नो अभिव्यक्तिप्रति लक्षित भएको बुझेर ग्रुपमा धिताललाई जवाफ फर्काएका थिए। उनले धिताल जेनजी आन्दोलनमा सहभागी नभएको र आन्दोलनको मर्म नबुझेको आरोप लगाए। ‘सदनमा भन्नेवाला छु। स्ट्याटस लेख्नेवाला मान्छेले सुन्ने हो अब,’ गुरुङले लेखे।
सांसद श्रृष्टि भट्टराईका अनुसार गृहमन्त्री गुरुङले सचेतकको स्टाटसलाई आधार मानेर जिज्ञासा राखेका थिए। ‘यो सरकारले सम्बोधन गर्नुपर्ने जुन माग छ, त्यो कसरी अगाडि ल्याउने भन्ने विषय थियो,’ उनले भनिन्, ‘त्यसमा कुरा भइराख्दाखेरी उहाँले सोध्नु भाको हो, मलाई किन नसोधेको भन्ने तरिकाले।’
यसको जवाफमा सचेतक धितालले गृहमन्त्री गुरुङको मर्यादामाथि प्रश्न उठाउँदै लेखिन्, ‘गृहमन्त्रीज्यू तपाईंको तमिज भएन। अपराधीलाई छेउमा राखेर जेनजीको माग पूरा हुन्छ र? जेनजी आन्दोलन एक्लैले गरेको हो भन्ने भ्रमबाट मुक्त हुनुहोस्, सि यु इन द पार्लियामेन्ट आइ फिल पिटी फर यु!’ गृहमन्त्री गुरुङले पनि ‘आइ फिल मोर पिटी फर यु’ भन्दै जवाफ फर्काए।
सांसद भट्टराईका अनुसार दुई जनाबीचको सवालजवाफपछि बब्लु र सुशान्त वैदिकले पनि ग्रुपमा मेसेज गरेका थिए। ‘हामी पनि बोलिराखेका थियौँ बिचबिचमा,’ उनले थपिन्, ‘दुई जना कुरा गर्दै गर्दा कतिपय कुराहरु आन्तरिक तरिकाले सुल्झाउनु पर्ने हुन्छ र वान टु वान कन्भर्सेसन गर्नुपर्ने हुन्छ। त्यो गर्दा राम्रो हुन्छ भन्यौँ।’
आफ्नै पार्टीको सचेतकलाई गृहमन्त्रीले थर्काएपछि रास्वपामा हलचल मच्चिएको छ। ग्रुपको गोप्य मेसेज बाहिरिएको भन्दै सांसदहरूमाथि केरकार सुरु भएको छ। सांसद अवस्थी र भट्टराई आन्तरिक विषय बाहिरिनु दुखद भएको बताउँछन्। ‘एउटा परिवारजस्तो कुरा गर्ने ग्रुपको कुरा कसरी बाहिरियो र त्यत्रो बबण्डर मच्चियो,’ उनीहरुले भने।
यो घटनाले गर्दा केही सांसदहरूले ग्रुप छोडेको पनि चर्चा छ, यद्यपि सांसद भट्टराईले अहिलेसम्म कसैले ग्रुप नछोडेको दाबी गरेकी छन्। यो ग्रुप विशेषगरी जेनजीको माग सम्बोधन हुनुपर्छ भन्ने उद्देश्यले बनाइएको र जेनजीका मुद्दाहरू कहाँसम्म पुर्याउने भन्ने फलोअपका लागि प्रयोग हुने सांसदहरू बताउँछन्।
