गोरखाको पालुङटारबाट गोसाइँकुण्ड जाँदै गरेको ग२ख ११५२ नम्बरको बस रसुवाको बेत्रावतीमा आएको बाढीले बगाएको छ। बसमा सवार कम्तीमा ४० यात्रुमध्ये पाँच जनाले हामफालेर ज्यान जोगाएका छन्। Nmkhabarलाई स्रोतले पुष्टि गर्यो।
बस बुधबार राति करिब २ बजे पालुङटारबाट गोसाइँकुण्डका लागि छुटेको थियो। बेत्रावती पुग्दा अचानक आएको बाढीले बसलाई बगाएको हो। प्रहरीका अनुसार पाँच जना यात्रु हामफालेर बाँच्न सफल भएका छन्।
बाँच्न सफल एक महिलाले गोरखामा रहेका आफन्तलाई घटनाबारे जानकारी गराएपछि प्रहरीले उद्धार कार्य थालेको हो। जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार बेपत्ता यात्रुहरूको खोजी तथा उद्धार कार्य जारी छ।
प्रहरीले प्रारम्भिक यात्रुहरूको नामावली सार्वजनिक गरेको छ। जसमा सागर देवकोटा, राममाया देवकोटा, रविन्द्र देवकोटा, पदमकुमारी देवकोटा, तारा रानाभाट, पार्वती न्यौपाने, रामहरि देवकोटा, रामहरि देवकोटाकी श्रीमती, सुजाता कौडल, दुर्गादेवी देवकोटा, तुलाराम देवकोटा, तुलाराम देवकोटाकी श्रीमती, कृष्णकला देवकोटा, मायादेवी देवकोटा, नानुमाया थापा, रविन्द्र देवकोटाकी आमा, पुरकोट–९ का बाबुराम बुवाकी श्रीमती, शारदा देवकोटा, हरि देवकोटा, बद्रीप्रसाद देवकोटा, मिठुमाया अग्माइन, घनश्याम देवकोटा, घनश्याम देवकोटाकी श्रीमती, सम्झना देवकोटा, सुष्मा न्यौपाने पोखरेल, मायादेवी खड्का, बाबुराम देवकोटा, केदार पण्डित, सरिता अधिकारी पण्डित, मधुमाया पण्डित, कमला पण्डित, नानु थापा, मुरारी खत्री र दिलबहादुर खत्रीको नाम उल्लेख छ।
यो नामावली प्रारम्भिक हो। उद्धार तथा खोजी कार्य जारी रहेकाले यात्रुहरूको वास्तविक संख्या र पहिचान थप स्पष्ट हुने प्रहरीले जनाएको छ।
