गृहमन्त्री सुदन गुरुङले सम्भावित अति भारी वर्षाको सामना गर्न सरकारले आवश्यक पूर्वतयारी सुरु गरेको बताएका छन्। मंगलबार जल तथा मौसम विज्ञान विभाग पुगेका गुरुङले असोज ९ देखि ११ गतेसम्मको वर्षाको पूर्वतयारी तीव्र पारिएको जानकारी दिए।
‘नदी तटीय क्षेत्रमा टोली परिचालन गर्नेदेखि नागरिकलाई सतर्क गराउने योजनामा छौं,’ गृहमन्त्री गुरुङले भने, ‘अवस्था र तयारीबारे विस्तृत ब्रिफिङ लिएका छौं।’
उनले तयारीका लागि दुई दिन मात्र बाँकी रहेकाले सबै पक्षलाई सचेत रहन आग्रह गरे। सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको छ। उद्धार सामग्री तयारी अवस्थामा छन्। स्थानीय सरकारमार्फत पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाइएको छ।
मन्त्री गुरुङले हाल ट्रेकिङमा नजान अनुरोध गरे। गएकाहरूलाई पनि सुरक्षित स्थानमा फर्किन आग्रह गरे। विपद् कमाण्ड पोस्टमा सबै निकायका प्रतिनिधि रहनेछन्। त्यहीबाट समन्वय गर्ने निर्देशन उनले दिए।
विभागका महानिर्देशक डा. अर्चना श्रेष्ठलगायतले मन्त्री गुरुङलाई सम्भावित विपद्को जोखिमबारे ब्रिफिङ गराएका थिए। पश्चिमी न्यून चापीय प्रणालीले गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा भारी वर्षाको प्रक्षेपण छ। जोखिमयुक्त स्थानमा उच्च सतर्कता अपनाउनुपर्ने अवस्था छ।
