छिमेकी सल्यानमा स्क्रब टाइफसबाट ९ जनाको मृत्यु भइरहँदा जाजरकोटमा साउनदेखि असोजसम्मको तीन महिनामा १२२ जनामा संक्रमण पुष्टि भएको छ। यसले जाजरकोटमा पनि रोग नियन्त्रणको तयारी तीव्र पारेको छ।
जिल्ला स्वास्थ्य सेवा कार्यालय, जाजरकोटको तथ्यांकअनुसार, तीन महिनामा ४०४ जना शंकास्पद बिरामीको परीक्षण गर्दा करिब ३० प्रतिशतमा संक्रमण पुष्टि भएको छ। साउनमा १९ जनामा संक्रमण देखिएकोमा भदौमा ५६ र असोजमा ४७ जनामा संक्रमण पुष्टि भएको थियो।
जिल्लाका विभिन्न स्थानीय तहमध्ये नलगाड नगरपालिकामा सबैभन्दा धेरै संक्रमित भेटिएका छन्। नलगाडमा २०३ जनाको परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि भएको छ। साउनमा १५, भदौमा २७ र असोजमा ३४ जनामा संक्रमण देखिएको नलगाडमा असोज महिनामा मात्रै साउनको तुलनामा दोब्बरभन्दा बढी संक्रमित भेटिएका छन्।
जिल्ला अस्पताल, जाजरकोटमा पनि स्क्रब टाइफसका बिरामी बढेका छन्। अस्पतालमा तीन महिनामा १९३ जनाको परीक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको छ। हाल दुई जना संक्रमित अस्पतालमा उपचाररत छन्।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (EDCD) को तथ्यांकअनुसार, सन् २०२६ जनवरी १ देखि अक्टोबर १ सम्म नेपालका ७४ जिल्लामा ९,९२३ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भइसकेको छ। दाङ, सल्यान, बझाङ, स्याङ्जा, बर्दिया, पाल्पा, संखुवासभालगायतका जिल्लामा यसका बिरामी बढी देखिएका छन्। सल्यानमा मृत्यु भएका भनिएका ९ जनामध्ये महाशाखाले ७ जनाको मृत्यु मात्र स्क्रब टाइफसकै कारण भएको पुष्टि गरेको छ। स्क्रब टाइफसको राष्ट्रव्यापी संक्रमणबारे थप विवरण यहाँ पढ्नुहोस्।
स्क्रब टाइफस: ब्याक्टेरियाबाट सर्ने, उच्च ज्वरो प्रमुख लक्षण
स्क्रब टाइफस ‘ओरिएन्टिया सुसुगामुसी’ नामक ब्याक्टेरियाबाट हुने सरुवा रोग हो। संक्रमित झाडी तथा घाँसे क्षेत्रमा पाइने सानो किर्नाजस्तो ‘चिगर’ को टोकाइबाट मानिसमा यो रोग सर्ने गर्दछ। विशेषगरी वर्षायाम र वर्षापछिको समयमा यसको जोखिम बढी हुने स्वास्थ्यकर्मीहरू बताउँछन्।
संक्रमण हुँदा उच्च ज्वरो आउने, टाउको दुख्ने, शरीर तथा मांसपेशी दुख्ने, अत्यधिक कमजोरी हुने, खोकी लाग्ने, वाकवाकी तथा बान्ता हुनेजस्ता लक्षण देखिन सक्छन्। चिगरले टोकेको स्थानमा कालो दाग वा घाउजस्तो चिन्हसमेत देखिन सक्ने चिकित्सकहरू बताउँछन्।
जिल्ला स्वास्थ्य सेवा कार्यालय, जाजरकोटका स्वास्थ्य सेवा व्यवस्थापक डा सुनिल पुनले स्क्रब टाइफसको लक्षण देखिएमा समयमै स्वास्थ्य संस्थामा पुगेर परीक्षण तथा उपचार गराए रोग निको हुने बताए। ‘लक्षण देखिएपछि घरमै बसेर अनुमानका भरमा औषधि सेवन गर्नुभन्दा स्वास्थ्य संस्थामा पुगेर परीक्षण तथा उपचार गराउनुपर्छ,’ उनले भने।
जाजरकोट प्रशासनद्वारा संक्रमण नियन्त्रणको तयारी
जिल्लामा संक्रमण बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय, जाजरकोटले रोकथाम तथा नियन्त्रणका लागि तयारी अघि बढाएको छ। प्रमुख जिल्ला अधिकारी नवराज बरालको अध्यक्षतामा बसेको बैठकले सबै स्थानीय तह, स्वास्थ्य संस्था, जिल्ला अस्पताल तथा सम्बन्धित सरोकारवाला निकायलाई आवश्यक तयारी गर्न निर्देशन दिएको छ।
बैठकले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न र संक्रमितको परीक्षण, पहिचान तथा उपचारका लागि स्वास्थ्य संस्थाहरूलाई तयारी अवस्थामा राख्न पनि पत्राचार गर्ने निर्णय गरेको छ। रेडियो, एफएम, स्थानीय सञ्चारमाध्यम, कार्यालयका वेबसाइट तथा सामाजिक सञ्जालमार्फत स्क्रब टाइफसका लक्षण, रोकथाम, उपचार र नियन्त्रणसम्बन्धी सूचना तथा जनचेतनामूलक सामग्री प्रकाशन तथा प्रसारण गर्ने निर्णय भएको छ।
जिल्ला स्वास्थ्य सेवा कार्यालयलाई स्क्रब टाइफस संक्रमणको अवस्था नियमित अद्यावधिक गर्दै स्थानीय तहबाट विवरण संकलन गरी जिल्ला सुरक्षा समितिमा प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ।
