असोज २१, २०८३ सम्म नेपालका ७४ जिल्लामा १० हजार २१० जना स्क्रब टाइफसबाट संक्रमित भएका छन्।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले यो अवधिमा ७ जनाको मृत्यु पुष्टि गरेको छ। कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार, २२ जनाको मृत्यु रिपोर्ट भए पनि बाँकी १५ जनाको मृत्युको कारणबारे थप पुष्टि गर्ने काम भइरहेको छ।
लुम्बिनी प्रदेशमा २ हजार ८४८ जना, सुदूरपश्चिममा २ हजार १३ जना र गण्डकीमा १ हजार ८९५ जना संक्रमित भएका छन्। बागमतीमा १ हजार २८४, कोशीमा १ हजार १६०, कर्णालीमा ७५१ र मधेश प्रदेशमा २५९ जनामा संक्रमण पुष्टि भएको छ। दाङ, स्याङ्जा, बझाङ, संखुवासभा, पाल्पा, धादिङ, बर्दिया, गोरखा, दार्चुला र सल्यान सबैभन्दा बढी प्रभावित जिल्ला हुन्।
डा. दाहालले सल्यानमा मृत्युका घटना देखिएपछि संक्रमणको जोखिमबारे चासो बढेको बताएका छन्। प्रारम्भिक अध्ययनले स्वास्थ्य संस्था पुग्न ढिलाइ गर्नु मृत्युको प्रमुख कारण रहेको देखाएको छ।
ईडीसीडीले ज्वरो आएमा घरमै औषधि सेवन नगरी तत्काल स्वास्थ्य संस्थामा पुगेर जाँच गराउन आग्रह गरेको छ। समयमै उपचार पाएमा बिरामी निको हुने र आवश्यक औषधि देशभरका स्वास्थ्य संस्थामा निःशुल्क उपलब्ध रहेको दाहालले जानकारी दिए।
स्क्रब टाइफस ‘ओरेन्सिया सुसुगामुसी’ नामक ब्याक्टेरियाबाट लाग्ने सरुवा रोग हो, जुन किर्ना जस्तो देखिने माइटको टोकाइबाट सर्छ। वर्षायामपछि वातावरणमा चिस्यान र आर्द्रता बढ्ने, घाँसपात बढ्ने तथा मानिसको खेतबारीसँगको सम्पर्क बढ्ने भएकाले किर्नाको सक्रियता बढ्दा संक्रमणको जोखिम पनि बढ्छ। सल्यानमा ९ जनाको मृत्यु भएको रिपोर्ट आए पनि ईडीसीडीले देशभर ७ जनाको मात्रै मृत्यु पुष्टि गरेको छ, जसको यकिन गर्न अनुसन्धान जारी छ।
