जनकपुरको भूतनाथ (स्वर्गद्वारी) मन्दिरमा राति चोरी गर्ने प्रयासमा रहेका एक जनालाई धनुषा प्रहरीले करिब दुई मिनेटमै पक्राउ गर्न सफल भएको छ। प्रहरीले चोरीका सामानसहित अभियुक्तलाई नियन्त्रणमा लिएको छ।
गएराति करिब १:३० बजेको समयमा मन्दिरमा चोरी गर्न पसेका भारत बिहार घर भएका २६ वर्षीय मोतिफर रहमान मियाँलाई प्रहरीले रंगेहात पक्राउ गरेको हो। उनीसँगै अर्का एक जना भने फरार रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मियाँले मन्दिरको जलढरी, भगवानको ठूलो मुकुट, चार वटा मध्यम मुकुट र नागदेवता जस्ता बहुमूल्य सामग्रीहरू कम्बलमा बाँधेर लैजान खोजेका थिए।
घटनास्थल नजिकैको घरको छतमा सुतिरहेका एक युवकले चोरी भइरहेको देखेर तत्कालै धनुषा प्रहरीलाई खबर गरेका थिए। सूचना पाउनेबित्तिकै ड्युटीमा रहेका प्रहरी टोली तुरुन्तै घटनास्थल पुगेर मियाँलाई पक्राउ गर्न सफल भएको थियो।
पक्राउ परेका मियाँलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ। प्रहरीले फरार रहेका अर्का व्यक्तिको खोजी कार्य जारी राखेको छ र अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाउने जनाएको छ।
