जनकपुरधामका पाँचवटा पौराणिक पोखरीहरू नक्साबाटै गायब भएका छन्। ती लोप भएका पोखरीमाथि अहिले व्यावसायिक प्रतिष्ठान, होटल, अस्पताल र बस्ती ठडिएका छन्। ‘५२ कुटी ७२ कुण्ड’ को उपमा पाएको सहरका पोखरीहरू अतिक्रमणको चपेटामा परेका हुन्।
जनकपुरधाममा गुठी संस्थानका ४९ पोखरी छन्। तीमध्ये पाँचवटा पोखरी पूर्णरूपमा लोप भइसकेको २०६२ को उच्चस्तरीय कार्यदलको प्रतिवेदनले औँल्याइसकेको छ। जनक सरोवर, अमृत कुण्ड, पयश्विनी सर, बलदेव सर र गोपाल सर पोखरीहरू नक्साबाटै मेटिएका छन्।
तत्कालीन बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष रामकुमार शर्माले २०७१ मा पोखरी संरक्षणको प्रयास गरे। तर, अवरोध सिर्जना हुँदा अभियानले निरन्तरता पाएन।
बालेन्द्र शाह नेतृत्वको सरकारपछि पोखरी संरक्षण अभियान पुनः सुरु भएको छ। पहिलो चरणमा सातवटा पोखरी र डिलमा बनेका घरटहरा भत्काइए।
दोस्रो चरणमा १५ वटा पोखरीको डिल खाली गर्न सात दिनको सूचना दिइयो। तर, जनकपुर उपमहानगरपालिकाले सहयोग नगर्दा अभियान अलपत्र पर्ने चिन्ता छ।
गुठी संस्थानका प्रवक्ता जनक पोखरेलले प्राविधिक कारणले दोस्रो चरण रोकिएको बताए। स्थानीयवासीले आफैँ भत्काउने अनुरोध गर्दा प्रक्रिया लम्बिएको उनको भनाइ छ।
जनकपुर उपमहानगरपालिकाका मेयर मनोजकुमार साह भने गुठी संस्थानले समन्वय नगर्दा समस्या आएको बताउँछन्।
वडा नम्बर ३ को देवान पोखरी संरक्षणविहीन छ। डिलमा घरटहरा बनेका छन्। चारैतिर फोहोरको थुप्रोले यो पोखरी डम्पिङ साइट बनेको छ।
उपमहानगरपालिकाले देवान पोखरीको सौन्दर्यीकरण अघि बढाएको छ। ठेकेदार सुशान्त–सावन जेभीले काम पाएको छ।
पोखरी सौन्दर्यीकरणको कुल लागत भ्याटबाहेक २ करोड ३७ लाख ६५ हजार ७ सय ४४ रुपैयाँ छ। सम्झौता २०८३ जेठ १८ मा सुरु भई २०८४ जेठ ३१ मा सक्नुपर्नेछ।
