काठमाडौँ जिल्ला प्रशासन कार्यालयले काठमाडौँ-बल्खु-दक्षिणकाली हुँदै हेटौँडा चल्ने सडक खण्डमा राति सार्वजनिक तथा यात्रुवाहक सवारीसाधन सञ्चालनमा रोक लगाएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले २०८३ कात्तिक २७ गते जारी गरेको अत्यन्त जरुरी सूचनाअनुसार, अब साँझ ८ बजेदेखि बिहान ५ बजेसम्म यस रुटमा सवारी चलाउन पाइने छैन।
प्रशासनले यात्रु सुरक्षालाई ध्यानमा राख्दै यो कदम चालेको हो। यसअघि मकवानपुर दुर्घटनापछि काठमाडौँ–हेटौँडा सडकमा नयाँ नियमबारे एनएमखबरले जानकारी गराएको थियो।
दुर्घटना बढ्नुका कारण
प्रशासनका अनुसार यस सडक खण्डमा साँघुरा सडक, यान्त्रिक अवस्था ठीक नभएका सवारीसाधनको प्रयोग, चालकको लापर्बाही, तीव्र गति र घुम्तीयुक्त भिरालो सडकका कारण दुर्घटना बढेको छ। रातिको समयमा अँध्यारो सडकमा यात्रा गर्दा जोखिम उच्च रहेको प्रशासनले जनाएको छ।
तीव्र प्रतिस्पर्धाका कारण एउटै चालकले दिनमा पटक-पटक ट्रिप गर्दा हुने अत्यधिक तनाव र अनिद्राले गम्भीर दुर्घटना निम्त्याएको पाइएको छ। साथै, मादक पदार्थ र लागुपदार्थ सेवन गरी सवारी चलाएको गुनासोसमेत प्राप्त भएपछि जिल्ला सुरक्षा समिति काठमाडौँले यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै नयाँ नियम निर्धारण गरेको हो।
सवारी सञ्चालनका लागि नयाँ नियमहरू
- काठमाडौँबाट बल्खु-दक्षिणकाली हुँदै हेटौँडा जाने यात्रुवाहक सार्वजनिक सवारीसाधनहरू बेलुका ८:०० बजेसम्ममा प्रहरी चेकपोस्ट फर्पिङ पुगिसकेको हुनुपर्नेछ।
- बिहान ५:०० बजेपछि मात्र बल्खुबाट उक्त रुटमा चल्ने यात्रुवाहक भाडाका एवम् सार्वजनिक सवारीसाधनहरू सञ्चालन गर्न पाइनेछ।
- यात्रुवाहक भाडाका एवम् सार्वजनिक सवारीसाधनहरूको अवस्था पूर्ण रूपमा चेकजाँच गरेर मात्र सञ्चालन गर्न पाइनेछ।
- काठमाडौँ जिल्लाभित्रका उक्त रुटमा पर्ने प्रहरी युनिटहरू (ट्राफिक प्रहरीसमेत) ले कडाइका साथ भाडाका एवम् यात्रुवाहक प्रत्येक सवारी साधनको अनिवार्य रूपमा चेकजाँच गर्ने व्यवस्था मिलाउनेछन्।
प्रशासनले यात्रा गर्ने सम्पूर्ण सर्वसाधारण तथा सवारी चालकहरूलाई यसै सूचनाअनुसारको नियम पालना गर्न अनुरोध गरेको छ।
