प्रतिनिधिसभाले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ। यससँगै गणपूरक संख्या नपुगेर रोकिएको विधेयकको संसदीय प्रक्रिया अघि बढेको छ।
सोमबार बसेको बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेका थिए। सदनले उक्त प्रस्तावलाई बहुमतले पारित गरेको हो।
गत साउन २६ गतेको बैठकमा गणपूरक संख्या नपुग्दा यो प्रस्ताव निर्णयार्थ पेस हुन सकेको थिएन। कुनै पनि प्रस्ताव निर्णयार्थ पेस गर्न कम्तीमा ६९ सांसद आवश्यक पर्छ। त्यसबेला ६१ सांसद मात्र उपस्थित थिए।
आवश्यक संख्या नपुगेपछि सभामुख अर्यालले प्रक्रिया स्थगित गरेका थिए। सोमबारको बैठकले विधेयकलाई अघि बढाएसँगै थप संसदीय प्रक्रिया सुरु भएको छ।
