कोशी प्रदेश सरकारले ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट आजै प्रदेशसभाबाट पारित गर्दैछ, सत्तापक्षकै विरोधपछि संशोधनका लागि कार्यदल गठन भएको छ। सत्तारूढ दल नेकपा एमाले र नेपाली कांग्रेसले बजेट पारित गर्न ह्विप जारी गरेका छन्।
प्रदेशसभा बैठकमा बजेट पारित गर्ने कार्यसूची छ। यसअघि सरकारले ल्याएको बजेट मन्त्री र मुख्यमन्त्रीको क्षेत्रमा बढी केन्द्रित भएको भन्दै सत्तापक्षकै सांसदहरूले विरोध जनाएका थिए।
विरोध साम्य पार्न सरकारले साउनको तेस्रो हप्ताभित्र बजेट संशोधन गर्ने प्रतिबद्धता जनायो। आज बसेको मन्त्रिपरिषद् बैठकले कार्यदल गठन गरेको स्रोतले जनायो, तर सरकारले आधिकारिक घोषणा गरेन।
सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले मन्त्रिपरिषद्का दुईवटा निर्णय सार्वजनिक गरे। उनले कोशी प्रदेश वन नियमावली २०८३ संशोधनका लागि कानुन, न्याय तथा प्रदेश मामिला समितिमा पठाउने निर्णय बताए। ग्रामीण सडक सञ्जाल सुधार आयोजनाको क्षतिपूर्ति निर्देशिका २०८३ स्वीकृतिका लागि आर्थिक, सामाजिक तथा भौतिक पूर्वाधार समितिमा पठाउने निर्णय पनि उनले सुनाए। बजेट संशोधन कार्यदलबारे उनले केही खुलाएनन्।
आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपको नेतृत्वमा कार्यदल बनेको स्रोतले दाबी गर्यो। सदस्यहरूको टुङ्गो लाग्न बाँकी छ।
सत्तापक्षका सांसदहरूले बजेट पारित गर्न असहयोग गर्ने संकेत पाएपछि सत्तारूढ दलहरूले ह्विप जारी गरे। नेकपा एमालेका प्रमुख सचेतक रमेशकुमार बस्नेत र कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङले ह्विप जारी भएको पुष्टि गरे।
बजेट संशोधनको माग राख्दै सत्तापक्षकै सांसदहरूले अडान नछाडेपछि असार ११, १६ र १८ गतेका प्रदेशसभा बैठकहरू स्थगित भएका थिए। १९ गतेको बैठकअघि सरकारले आफ्नो कमजोरी स्वीकार्ने र साउनभित्र बजेटको असन्तुलन मिलाउने सहमति भएको थियो। सोही सहमतिपछि मन्त्री लिङ्थेपले संसद्को रोस्ट्रमबाटै कमजोरी सच्याउने निर्णय भएको बताए।
