भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा अत्यधिक वर्षाको पूर्वानुमानपछि स्थानीय तहलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयको विपद् व्यवस्थापन तथा सामाजिक समावेशीकरण शाखाले नेपाल मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनाका आधारमा देशभरका स्थानीय तहलाई पत्राचार गरेको हो।
उक्त अवधिमा वर्षाका कारण उत्पन्न हुनसक्ने विपद् जोखिम तथा सम्भावित क्षति न्यूनीकरणका लागि उच्च सतर्कताका साथ रहन निर्देशन दिइएको छ। पत्रमार्फत स्थानीय तहमा कार्यरत कर्मचारीलाई बिदामा नबस्न र प्रमुख प्रशासकीय अधिकृतहरूलाई मन्त्रालयसँग नियमित सम्पर्कमा रहन भनिएको छ।
स्थानीय विपद् व्यवस्थापन समितिको बैठक बसी आवश्यक पूर्वतयारी गर्न र त्यससम्बन्धी जानकारी मन्त्रालयमा पठाउन पनि निर्देशन छ। मन्त्रालयले जोखिमयुक्त स्थान तथा बस्तीमा रहेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ।
सामुदायिक भवन, विद्यालयलगायतका संरचनालाई आवश्यक परेको अवस्थामा अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्न सक्ने गरी तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ। सम्भावित विपद्बारे नागरिकलाई समयमै जानकारी गराउन वडा कार्यालयमार्फत माइकिङ, स्थानीय एफएम तथा सामाजिक सञ्जालबाट सचेतनामूलक सूचना प्रवाह गर्नसमेत स्थानीय तहलाई आग्रह गरिएको छ।
