असारको अन्तिम सातासम्म मधेश प्रदेशका अधिकांश खेतमा धान रोपाइँ तीव्र छ। आकाशको पानीले किसानलाई रोपाइँमा व्यस्त बनाएको छ। तर उनीहरूको ठूलो चिन्ता मौसम वा श्रमिक अभाव होइन—रासायनिक मलको चरम अभाव छ। अन्नदाता किसानहरू यतिबेला आक्रोश र निराशामा छन्। उनीहरूको प्रश्न छ—‘हामी खेतमा छौँ, मल चाहिँ कहाँ छ सरकार?’
सरकारले गोदाममा पर्याप्त मल मौज्दात रहेको दाबी गर्छ। तर मधेशका अधिकांश किसानले खेतसम्म मल नपुगेको गुनासो गरिरहेका छन्। कृषि मन्त्रालयले देशभर ९२ हजार ५ सय ९२ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको जनाएको छ। कृषि मन्त्री गीता चौधरीले पनि मल अभाव नरहेको दाबी गर्दै आएकी छन्।
सरकारी तथ्यांक र किसानको अवस्थाबीच ठूलो अन्तर छ। मधेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका किसान एक बोरा मलका लागि दिनहुँ लाइन बस्न बाध्य छन्। प्रतिनिधिसभा सदस्य टेकबहादुर शाक्यले किसानको पीडा सुनाउँदै सरकारलाई प्रश्न गरे, ‘हामी त खेतमा छौँ, मल चाहिँ कहाँ छ सरकार? कि त जवाफ सिकाइदिनुपर्यो, कि त मल दिनुपर्छ।’ उनले मल अभावले किसान निराश र आक्रोशित बनेको भन्दै तत्काल वितरण व्यवस्थापन गर्न माग गरे। सांसद करिश्मा कठरियाले पनि संसदमा मधेशका किसानको अवस्था उल्लेख गरिन्, ‘तराईमा मलको हाहाकार छ। ज्वरो आउँदा सिटामोलभन्दा पहिले मल चाहियो भन्दै किसान रुन बाध्य छन्।’ उनले किसानको पीडा सुन्दा पनि सरकारको दाबी किसानको आँशुमाथिको राजनीति भएको टिप्पणी गरिन्।
सप्तरीको राजविराज–१० का किसान श्यामप्रसाद यादवका अनुसार एउटा सहकारीमा १५० बोरा मल आयो। यो स्थानीय मागको एक प्रतिशत पनि होइन। मधेशका अन्य जिल्लामा पनि अवस्था उस्तै छ। धेरै किसान रासायनिक मल नपाएर धान रोप्न बाध्य छन्। कतिपयले भारतबाट महँगो मूल्यमा मल ल्याउने प्रयास गरिरहेका छन्। कृषि विभागका अनुसार असार २६ गतेसम्म मधेश प्रदेशमा ३२.८ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ। यो सातै प्रदेशमध्ये दोस्रो सबैभन्दा कम प्रगति हो। मल अभाव, उन्नत बिउको कमी तथा सिँचाइ समस्याले रोपाइँको गति प्रभावित भएको छ।
सरकारसंग मौज्दात र बाटोमा रहेको मल जोड्दा पनि बर्खे धानका लागि आवश्यक कुल मलको एकतिहाइ मात्र पुग्ने अवस्था छ। बर्खे धानका लागि नेपाललाई करिब २ लाख मेट्रिक टन युरिया, १ लाख ५० हजार मेट्रिक टन डीएपी र १५ हजार मेट्रिक टन पोटास आवश्यक पर्छ। मौज्दातले त्यो आवश्यकता पूरा गर्दैन। यही कारण किसान र सांसदहरूले सरकारको ‘पर्याप्त मल’ भन्ने दाबीमाथि प्रश्न उठाइरहेका छन्।
मल अभावसंगै खरिद प्रक्रियामाथि पनि गम्भीर प्रश्न उठेको छ। एउटै अन्तर्राष्ट्रिय आपूर्तिकर्ताले भारतलाई कम मूल्यमा र नेपाललाई झन्डै दोब्बर मूल्यमा मल उपलब्ध गराएको विषय संसदमा उठ्यो। सांसदहरूले कर्मचारी, व्यापारी र बिचौलियाबीच मिलेमतो भएको आशंकामा खरिद प्रक्रिया छानबिन गर्न माग गरेका छन्। नेपालको कुल खेतीयोग्य क्षेत्रफलको ५४ प्रतिशतमा धान खेती हुन्छ। कृषि कुल गार्हस्थ उत्पादनमा धानको योगदान करिब १३ प्रतिशत छ।
मधेश देशको प्रमुख अन्न उत्पादन क्षेत्र हो। यही प्रदेशमा मल अभाव कायम रहे यस वर्ष धान उत्पादनमा ठूलो गिरावट आउन सक्ने कृषि विज्ञहरूको चेतावनी छ।
