NM Khabar 20 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

मधेस प्रदेशको जीडीपी १३% पुर्‍याउन लगानी सम्मेलनको तयारी

मधेस प्रदेश सरकारले आर्थिक गतिविधि विस्तार र लगानी प्रोत्साहनमार्फत जीडीपीमा १३% योगदान पुर्‍याउने लक्ष्य लिएको छ। चालु आर्थिक वर्ष २०८३/८४ मा लगानी सम्मेलन आयोजना गर्ने योजना छ। आर्थिक वर्ष २०८१/८२ मा मधेस प्रदेशको जीडीपी ८ खर्ब ४ अर्ब अनुमानित छ, जसको ३६.७०% योगदान कृषि क्षेत्रको छ।
Sunita Rai
Sunita Rai
19 July 2026, 4:03 pm १ मिनेट पढाइ
आकार:
मधेस प्रदेश जीडीपी
Share:

मधेस प्रदेशको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा १३ प्रतिशत योगदान पुर्‍याउन प्रदेश सरकारले आर्थिक गतिविधि विस्तार, उत्पादन वृद्धि र निजी क्षेत्रको लगानीलाई उच्च प्राथमिकता दिएको छ। प्राकृतिक स्रोत, उर्वर कृषि भूमि, प्रशस्त श्रमशक्ति र सीमापार व्यापारको सम्भावना हुँदाहुँदै पनि प्रदेशको आर्थिक क्षमता पूर्ण उपयोग हुन नसकेको निष्कर्षसहित सरकारले उत्पादनशील क्षेत्रको विस्तार, औद्योगिकीकरण र लगानी प्रवद्र्धनका कार्यक्रम अघि बढाएको हो।

उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका सचिव जयकुमार घिमिरेले प्रदेशको जीडीपी बढाउन उत्पादनशील क्षेत्रको विस्तारसँगै पर्यटन प्रवर्द्धनमा जोड दिएको बताए। “प्रदेशमा उद्योग, व्यापार र सेवा क्षेत्रमा लगानी बढाउन प्राथमिकता दिएका छौँ,” उनले भने, “गत आर्थिक वर्ष २०८२/८३ मा लगानी सम्मेलन आयोजना गर्न नसके पनि चालु आर्थिक वर्ष २०८३/८४ मा यस्तो सम्मेलन आयोजना गर्ने योजना छ।”

उनका अनुसार प्रदेशका पर्यटकीय क्षेत्रको पहिचान, स्तरोन्नति तथा पर्यटक आकर्षित गर्ने कार्यक्रम सञ्चालन गरिनेछ। औद्योगिक पूर्वाधार विकास, कृषि उपजमा आधारित उद्योग स्थापना, साना तथा मझौला उद्यम प्रवर्द्धन, सीमावर्ती व्यापार व्यवस्थापन र लगानीकर्तालाई प्रशासनिक सहजीकरणलाई सरकारले प्राथमिकतामा राखेको छ।

मधेस प्रदेश नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष डा भोगेन्द्र झाले लगानी सम्मेलनजस्ता कार्यक्रमले लगानीको वातावरण निर्माणमा सकारात्मक भूमिका खेल्ने बताए। उनले लगानी प्रतिबद्धतालाई वास्तविक परियोजनामा रूपान्तरण गर्न, उद्योग सञ्चालनका कानुनी तथा प्रशासनिक प्रक्रिया सरल बनाउन र निजी क्षेत्रसँग नियमित संवाद आवश्यक रहेको औँल्याए।

राष्ट्रिय जीडीपीमा मधेस प्रदेशको करिब १३ प्रतिशत योगदान छ। उत्पादन, उद्योग, व्यापार तथा सेवा क्षेत्रको विस्तारविना प्रदेशको आर्थिक आकार बढ्न नसक्ने उनको भनाइ छ।

नेपाल राष्ट्र बैङ्कको गत कात्तिकमा सार्वजनिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन रु ६१ खर्ब सात अर्ब अनुमान गरिएकामा मधेस प्रदेशको कुल गार्हस्थ्य उत्पादन रु आठ खर्ब चार अर्ब रहने अनुमान छ। सोही अवधिमा राष्ट्रिय अर्थतन्त्र ३.९९ प्रतिशतले वृद्धि हुने अनुमान गरिएकामा मधेस प्रदेशको आर्थिक वृद्धि ३.८८ प्रतिशत रहने प्रक्षेपण गरिएको छ।

प्रतिवेदनअनुसार मधेस प्रदेशको अर्थतन्त्रमा कृषि, वन तथा मत्स्यपालन क्षेत्रको योगदान सबैभन्दा बढी ३६.७० प्रतिशत छ। खानी तथा उत्खनन क्षेत्रको योगदान सबैभन्दा कम ०.१५ प्रतिशत छ। आर्थिक वर्ष २०८१/८२ मा प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन ९३२ अमेरिकी डलर पुग्ने अनुमान छ।

कृषि क्षेत्रतर्फ खाद्य तथा अन्य बालीको उत्पादन १४.०१ प्रतिशत र तरकारी एवं बागवानी उत्पादन ९.७९ प्रतिशतले वृद्धि भएको छ। दूध, अण्डा र माछा उत्पादनमा क्रमशः ३.१६, ९.६४ र ५.९५ प्रतिशतले वृद्धि भएको छ। फलफूल, मसला तथा मासु उत्पादनमा भने केही गिरावट आएको प्रतिवेदनले देखाएको छ।

Sunita Rai

Sunita Rai

संवाददाता · NM Khabar

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

सम्बन्धित समाचार