अपडेट (19:43, 2026-10-01)
बाढी र पहिरोका कारण बागमती, गण्डकी र कर्णाली प्रदेशका अधिकांश मुख्य राजमार्ग तथा हिमाली जिल्ला जोड्ने सडकहरू पूर्ण रूपमा ठप्प भएको नेपाल प्रहरीले जनाएको छ। रसुवाका सम्पूर्ण मुख्य राजमार्गहरू बन्द छन् भने चीनको सीमा जोड्ने जोमसोम-कोरला र सिमिकोट-हिल्सा सडकखण्डमा समेत यातायात पूर्ण रूपमा रोकिएको छ। गण्डकी प्रदेशमा मनाङको बेँसीसहर-खाङसार सडक, म्याग्दीको बेनी-जोमसोम सडकखण्डको बैसरी र सुकेबगर, बेनी-दरबाङ सडकको घुमाउने भीर, मुस्ताङको जोमसोम-कोरला सडकखण्डअन्तर्गत काभ्रेभीर र सेल्फीडाँडा तथा कालीगण्डकी करिडोरअन्तर्गत बाग्लुङको बेलबगर र नवलपरासी पूर्वको घुमाउरी घाट तथा जन्ती पहिरोमा सडक एकतर्फी मात्र सञ्चालनमा छ। कर्णाली प्रदेशमा हुम्लाको मुसेडी र स्यालतडीमा कर्णाली करिडोरअन्तर्गतको सडक पूर्ण बन्द छ भने सिमिकोट-हिल्सा सडकखण्डको यालबाङ र ठाडोढुङ्गामा यातायात अवरुद्ध छ। कालिकोटको खाँडाचक्र नगरपालिका-३ खडिखोलामा पहिरो खसेपछि कालिकोट-जुम्ला सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध बनेको छ। प्रहरीले अवरुद्ध सडक खुलाउने प्रयास गरिरहेको र यात्रामा निस्कनुअघि सडकको अवस्था बुझ्न सर्वसाधारणलाई आग्रह गरेको छ।
अपडेट (19:28, 2026-10-01)
मनाङमा १६ इन्डोनेसियाली पर्यटकको उद्धार गरिएसँगै हुम्लाको नाम्खा गाउँपालिका–६, लिमीको हल्जी गाउँमा हिमपातले अलपत्र परेका तीन जर्मन पर्यटकको पनि असोज १५ गते, बिहीबार हेलिकप्टरमार्फत उद्धार गरिएको छ। जिल्ला प्रहरी कार्यालय हुम्लाले उद्धारको पुष्टि गरेको छ।
नाम्खा गाउँपालिकाको उत्तरी क्षेत्रमा तीन दिनदेखि परेको अविरल वर्षासँगै भारी हिमपातका कारण न्यालु लेक र नारा लेकका सडकहरू अवरुद्ध भएका छन्। वडाध्यक्ष पाल्जोर तामाङका अनुसार, हिमपातले लिमीका तिल, जाँङ र हल्जी गाउँमा आवतजावत बन्द भएको छ। यसपटक हिउँदको समयभन्दा धेरै करिब ३ फिट हिउँ जमेको वडाध्यक्ष तामाङले जानकारी दिएका छन्।
अविरल वर्षापछि आएको बाढी, पहिरो र ढुंगा खस्दा सिमकोट–हिल्सा सडक, कर्णाली करिडोर तथा जिल्लाका सातवटै गाउँपालिकाका ग्रामीण सडकमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। हिल्सा क्षेत्रमा सडकमा जमेको हिउँ पन्छाउन नेपाल प्रहरीको टोली परिचालन गरिएको छ। कर्णाली करिडोरअन्तर्गत हुम्लाको कवाडीदेखि गिउसी सडक खण्ड सञ्चालनमा ल्याइएको छ भने माथिल्लो खण्ड पनि बुधवारसम्म सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।
मनाङमा अलपत्र परेका १६ इन्डोनेसियाली पर्यटकको असोज १५ गते हेलिकप्टरबाट उद्धार गरियो। अन्नपूर्ण पदमार्गमा निरन्तर वर्षा र पहिरोले अवरुद्ध गरेपछि उनीहरू मनाङको घताङ एग्रो क्षेत्रमा फसेका थिए।
डाइनेस्टी हेलिकप्टर प्रयोग गरी पर्यटकहरूलाई मनाङको निस्याङ गाउँपालिका–१, घताङ एग्रो क्षेत्रबाट लमजुङको बेँसीसहर नगरपालिका–७, सहजीमा ल्याइएको हो। जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक जितेन्द्रबहादुर बस्नेतले पर्यटकहरूको उद्धार पुष्टि गरे।
उद्धार गरिएका पर्यटकहरूमा सिटी आलिया रहादियानी, अराफी अनुगेराह साप्रुदिन, सिटी अकिया नुरफद्ला, अजी बागुस सेतियावान, नाइरा हानिफ्फादिला नोअर बुदिमान, बेट्टी अगुस्टिना सुप्रियाटिन, मेटा अज जाह्रा पुत्री, मुहम्मद दिनी अकबर, मुहम्मद अल्लाम नाज्ह्लिफा, एएफआरएल आरएलजेडकेएल, सिफा अलिफा युसुफ, मुहम्मद राफ्दी फौजान, मुमान, मुहम्मद खैरुदिन, बेला ग्रासेभा अमान्दा पुत्री र दिनी अब्दिलाह रहेका छन्।
लमजुङ ल्याइएपछि उनीहरूलाई ग१ज ३७४० र बा.प्र.०१–००७ ख १६८० नम्बरका सवारीसाधनमार्फत पोखरातर्फ प्रस्थान गराइएको प्रहरीले जनाएको छ। उद्धार कार्यका क्रममा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी हबल्दार गुञ्जबहादुर बरामको कमाण्डमा चार जनाको प्रहरी टोली परिचालन गरिएको थियो।
पर्यटकहरू असोज ८ देखि ११ गतेसम्म परेको निरन्तर वर्षाका कारण अन्नपूर्ण पदमार्गमा ठाउँठाउँमा पहिरो गएपछि अलपत्र परेका थिए। लगातारको वर्षाले अन्नपूर्ण पदमार्ग र बेँसीसहर–चामे सडक दुवै प्रभावित बनेकाले पर्यटकको आवतजावतमा समस्या आएको थियो। असोज ११ गते बेँसीसहर नगरपालिका–६, खरखरे भिरमा पहिरो खसेपछि बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो। सोही दिन पृथ्वी राजमार्गसहित सात राष्ट्रिय राजमार्गमा पनि बाढीपहिरोका कारण आवागमन ठप्प भएको थियो।
मौसम पूर्वानुमान महाशाखाले असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना जनाएको थियो। गृह मन्त्रालयले सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गर्दै ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पूर्वतयारी र प्रतिकार्य योजना प्रभावकारी बनाउन निर्देशन दिने तयारी गरेको थियो।
ढोरपाटन संवाददाताका अनुसार, असोज १५ गतेसम्म पनि मनाङमा असोज ८ देखि १२ गतेसम्मको मौसमी विपद्को मार कायमै छ। सडक सञ्चालन नभए खाद्यान्न संकट आउन सक्ने अवस्था रहेको रिपोर्टमा उल्लेख छ।
सडक विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार, सडकमा आएका अवरोधहरू पन्छाएर यथाशीघ्र यातायात सेवा पुनः सञ्चालन गर्न उपकरण तथा प्राविधिक टोलीलाई प्रभावित क्षेत्रहरूमा परिचालन गरिएको छ। सम्बन्धित निकायले सर्वसाधारणलाई सडकको अवस्था र मौसमअनुसार सवारी आवागमनसम्बन्धी निर्णय परिवर्तन हुन सक्ने भएकाले पछिल्लो सूचना हेरेर मात्र यात्रा गर्न आग्रह गरेका छन्। गृह मन्त्रालयले जोखिमको अवस्था हेरी आवश्यक परे जिल्लागत रूपमा यातायात सञ्चालन रोक्न सकिने तयारी गरेको छ।
उद्धार गरिएका पर्यटकहरूको स्वास्थ्य अवस्था, हेलिकप्टर उद्धारको खर्च र पोखरा पुगेपछिको यात्रा योजनाबारे थप जानकारी उपलब्ध छैन।
